काठमाडौँ । सरकारले कोभिडविरुद्धको राष्ट्रव्यापी खोप अभियान आजबाट सुरु गरेको छ ।
भुटान, जापान लगायतका बिभिन्न मुलुकबाट आएको खोप धेरैभन्दा धेरै नागरिकसम्म पुर्याउनका लागि आजदेखि यही साउन ३२ गतेसम्म खोप अभियान चलाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखा प्रमुख डा झलक गौतमले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार खोप अभियान सफल पार्नका लागि मुलुकभरमा खोप केन्द्रहरूको बिस्तार गरिएको छ भने स्थानीय सरकार, राजनीतिक दल, क्लब तथा सरोकारवाला निकायलाई समन्वयका लागि मन्त्रालयले अनुरोध गरेको छ ।
कोरोनाविरुद्धको खोप बारेको सूचना सम्प्रेषण, प्राथमिकतामा परेकालाई खोप दिने, खोप केन्द्र विस्तार लगायतका कार्य यो अभियान अन्तर्गत गरिने डा गौतमले जानकारी दिनुभयो ।
कोभिसिल्डको पहिलो मात्र लगाइसकेका १३ लाख ६८ हजारलाई यही हप्तामा खोप दिइने पनि उहाँको भनाइ छ ।
काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले काठमाडौँ जिल्लामा पनि कोभिसिल्ड खोप लगाइसकेका नागरिकका लागि दोस्रो मात्रा खोप आजबाट लगाइने जानकारी दिनुभयो । उहाँले काठमाडौँमा १ सय ४४ खोप केन्द्रमार्फत कोभिसिल्डको दोस्रो मात्राको खोप लगाइने बताउनुभयो ।
अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने र अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, संयोजक, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरूलाई कानुन बमोजिम कारबाही गर्ने स्वास्थ्य कार्यालयले चेतावनी दिनएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २५, २०७८, १०:१२