काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबिनै अघि बढ्ने रणनीतिमा देखिनुभएको छ ।
विधान महाधिवेशन आह्वान, तयारी लगायतका विषयमा नेपाल पक्ष सहमत भइसकेको छैन तर अध्यक्ष ओलीले त्यस बारेमा एकपछि अर्को बैठकबाट निर्णय गराउँदै जानुभएको छ ।
अध्यक्ष र केन्द्रीय कमिटी सदस्य मात्रै महाधिवेशनबाट निर्वाचित हुने गरी विधान संशोधन गर्ने तयारी उहाँको छ ।
महासचिवसहित अन्य पदाधिकारी केन्द्रीय कमिटीबाट आउनेछन्। अध्यक्षलाई एउटा महाधिवेशनदेखि अर्को महाधिवेशनसम्म ढुक्कसम्म काम गर्न सक्ने परिकल्पना संशोधित विधानले गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
केन्द्रीय कमिटीको हिजो बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो। यसलाई पार्टीका तल्लो कमिटीमा छलफलमा लगी आगामी विधान महाधिवेशनबाट अनुमोदन गर्ने निर्णय बैठकले गरेको छ।
नेपाल पक्षका नेताहरुले यस्तो कार्यबाट पार्टी एकतामा समस्या हुने बताउँदै आएका छन् । नेता घनश्याम भुसालले हिजोको बैठक र भएको निर्णयले पार्टी एकताका लागि भइरहेको प्रयास सार्थक नहुने हो कि भन्ने चिन्ता उत्पन्न भएको बताउनुभयो ।
पार्टी एकताको काम टुङ्ग्याउनका लागि दुरगामी असर पर्ने कुनै पनि निर्णय नलिन नेपाल पक्षका नेताहरुले आग्रह गर्दै आएका थिए ।
आगामी भदौ २७ र २८ गते हुने विधान महाधिवेशन तयारीका लागि चार वटा समिति हिजो गठन गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले सो समिति गठन गरेको हो ।
केन्द्रीय सदस्य महेश बस्नेतकाअनुसार बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा राजनीतिक प्रतिवेदन मस्यौता समिति गठन गरेको छ । समितिमा बामदेव गौतम, रामबहादुर थापा, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल, विन्दा पाण्डे सदस्य रहनुभएको छ ।
महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा संगठनात्मक प्रतिवेदन मस्यौदा समिति गठन गरेको छ । समितिको सदस्यहरुमा विष्णुप्रसाद पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ र पद्मा अर्याल सदस्य रहनुभएको छ । पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको छ ।
समितिमा सुवासचन्द्र नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुबीर महासेठ, राधा ज्ञवाली, भानुभुक्त ढकाल, प्रभु साह सदस्य रहनुभएको छ । रामबहादुर थापाको संयोजत्वमा व्यवस्थापन समिति गठन गरेको छ ।
समितिको सदस्यहरुमा मणी थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठ, महेश बस्नेत, पासाङ शेर्पा र खिमलाल भट्टराई सदस्य रहनुभएको छ ।
बैठकमा अध्यक्ष ओलीले एमाले एकताका लागि अझै आफूले मोही मथि रहेको बताउनुभएको थियो । ओलीले एमाले फुटाउन केही शक्तिहरु लागेको भए पनि सफल हुन नदिइने बैठकमा बताउनुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८, ०७:३९