काठमाडौँ । कोरोना महामारीका कारण उद्योग, व्यवसाय सङ्कटमा परेपछि व्यवसायी चिन्तित भएका छन् । यो समयमा बैँक तथा वितीय संस्थाहरूले भने उद्योगी, व्यवसायीहरुलाई साँवा र ब्याज तिर्न ताकेता गर्दै आएका छन् ।
बैँक तथा वितीय संस्थाहरूबाट ऋणको साँवा ब्याज तिर्न ताकेता आउन थालेपपछि आफूहरू थप समस्यामा परेको उनीहरूको भनाइ छ ।
बाँकेको कोहलपुर नगरपालिका ११ का संगिता सुवेदीले बैँकबाट ऋण लिएर कपडा व्यवसाय गर्नुभएको छ । कोरोना महामारीका कारण व्यवसाय नचलेपपछि सोचेजस्तो आम्दानी भएन तर बैँकबाट लिएको ऋणको ब्याज तिर्न तारन्तार फोन आउन थालेपछि हैरान भएको उहाँको गुनासो छ ।
उहाँ भन्नुहुन्छ ‘व्यापार व्यवसाय ठप्प भएको बेलामा बैँकहरूले साँवाब्याज तिर्न तोकता गर्छन् । म मात्र होइन, यो समस्या बैँकबाट ऋण लिएर व्यवसाय गरेका सबैले भोग्नु परेको छ । यस्तो महामारीको बेलामा त केही समय थप गरेर सजिलो बाउनुपर्नेमा ताकेता गर्दा ग्राहो भएको छ ।’
सङ्गीता मात्रै होइन अहिले देशभरका व्यवसायीहरूबाट यस्तो गुनासो आउने गरेको छ । पर्यटन व्यवसायमा निर्भर लमजुङका अधिकांश व्यवसायी पनि यही समस्या भोगिरहका छन् ।
होटल व्यवसाय र पर्यटन व्यवसाय ठप्प भएको बेला बैँकहरूले गर्ने ताकेताले व्यवसाय टिकाइराख्नसमेत समस्या भएको उद्योग वाणिज्य संघ लमजुङ्गका अध्यक्ष गुणराज सिलवाल बताउनुहुन्छ ।
‘सरकारले यो बेलामा उद्योगी व्यवसायीहरूलाई टिकाइ राख्न राहतका प्याकेज ल्याउनुपर्ने हो तर हामीले तीनै तहका सरकारबाट कुनै सहयोग पाएका छैनौँ । उद्योग व्यवसाय कसरी जोगाउने निकै ठूलो समस्या भएको छ ।’ सिलवालले भन्नुभयो ।
कोरोना प्रभावित क्षेत्रको पुनरोत्थानका लागि भन्दै स्थानीय, प्रदेश र सङ्घ सरकारले बजेट र कार्यक्रमको व्यवस्था गरेको भए पनि त्यो प्रर्याप्त नभएको उद्योगी व्यवसायी बताउँछन् ।
यस्तो बेला बैँकबाट ऋण लिएका व्यवसायीले आम्दानी नभएको हुँदा व्याज तिर्न नसकिने भन्दै समन्वय गरिदिन सरोकारवाला निकायलाई उनीहरूले गुहार्दै आएका छन् ।
तर यस विषयमा प्रदेश सरकारले भने खासै पहल गरेका छैनन् । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामजी प्रसाद बरालले आफू उद्योगी व्यवसायीहरूको समस्यामा गम्भिर भएको बताउनुभयो ।
सरोकारवालासँग छलफल गरेर प्रदेश सरकारले गर्न सक्ने सहयोगको लागिरहेको उहाँको भनाइ छ । कोरोना महामारीकै बीच सरकारले अघिल्लो वर्ष बैँकको व्याज छुटदेखि ऋण भुक्तानीको म्याद समेत थपेको थियो ।
तर यो पटक मौद्रिक नीति अहिलेसम्म नआएका कारण त्यस्तो सुविधा बारे टुङ्गो नलागेको राष्ट्रबैँका सहप्रवक्ता नारायण प्रसाद पोखरेल सीआईएनलाई बताउनुभयो ।
व्यवसायीहरूले बैँक ऋण तिर्न अप्ठ्यारो भएको बताए पनि नेपाल राष्ट्र बैँकको तथ्याङ्ग अनुसार कोरोना महामारी सुरु भएपछी ऋण प्रवाह भने बढेको छ ।
डेढ वर्षअघि चैतसम्ममा बैँक तथा वितीय संस्थाहरूबाट २८ खर्ब ३१ अर्ब ऋण प्रवाह भएको थियो । तर कोरोना महामारीपछि व्याजदर घटेका कारण हाल बढेर ४१ खर्ब ६६ अर्ब ऋण लगानी भएको नेपाल राष्ट्र बैँकले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८, १५:५०