काठमाडौँ । कोरोनाको पहिलो र दोस्रो लहरमा तुलनात्मक रूपमा कम प्रभावित भएको प्रदेश मध्य कणर्ाली हो । कणर्ालीमा हालसम्म २० हजार पाँच सय ९६ जनालाई कोरोना सङ्क्रमण हुँदा ४ सय २७ जनाको मृत्यु भएको छ ।
सङ्क्रमण र मृत्युदर त कम देखिएको छ, तर उपचारका लागि आवश्यक बन्दोबस्तमा कणर्ाली कमजोर देखिएको छ ।
प्रदेश सरकारलाई कोरोनाको तेस्रो लहर नआउँदै स्वास्थ्य संरचना बलियो बनाउनु पर्ने चुनौतिसँगै डेढ वर्ष यता थिलथिलो भएको शिक्षा, कृषि र आर्थिक क्षेत्रलाई पनि मजबुद बनाउनुपर्नेछ ।
कर्णाली आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा किसान केन्द्रित योजना बनाएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मुख्यमन्त्री रोजगार कार्यक्रमलाई पनि त्यसमा जोडेका छौं । हामीसँग चार अर्ब रुपैयाँ छ । रोजगारी गुमाएकालाई मात्र होइन नयाँ रोजगारी सिर्जना गर्ने योजनामा हामी छौं ।’
कणर्ाली शैक्षिक, आर्थिक र सामाजिक हिसाबले अरु प्रदेशभन्दा पछाडि छ । छिमेकी सुदूरपश्चिम प्रदेश पनि विकासको दृष्टिले कणर्ालीभन्दा केही कदम मात्रै अगाडि छ ।
कोरोनाको पहिलो लहरमा भारतबाट फर्किनेहरूका कारण निकै सास्ती व्यहोरेको सुदूरपश्चिमले दोस्रो लहर पनि जेनतेन झेल्यो ।
अब तेस्रो लहरबाट बढीभन्दा बढी नागरिक सुरक्षित बनाउने अनि रोजगारी गुमाएकालाई काम दिने गरी प्रदेशको योजना रहेको सामाजिक विकास मन्त्री लालबहादुर खड्काको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सुदूरपश्चिममा कृषिको सबैभन्दा ठूलो सम्भावना पनि हो । त्यो क्षेत्रमा आकर्षित गर्न हामीले कृषिसँग सम्बन्धित औजार उपकरणमा भन्सार महशुल तिरिदिने, कृषिमा सिँचाईको विद्युत महशुल तिरिदिने लगायतका थुप्रै कार्यक्रम जोड्न खोजिरहेका छौँ ।’
लुम्बिनी प्रदेश स्वास्थ्य केन्द्रित तयारीमै जुटेको छ भने, गण्डकी र प्रदेश २ ले रोजगारी र शिक्षा केन्द्रित योजना बनाएका छन् ।
बागमती प्रदेश भने कोरोनाका कारण अभिभावक गुमाएका बालबालिकालाई सहयोग गर्ने तयारीमा छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल भन्नुहुन्छ, ‘कोरोनाले बुवाआमा गुमाएकाहरूको हकमा प्रत्यक महिना पढाइको लागि तीन हजार रुपैयाँ दिन थालेका छौँ ।’
प्रदेश १ सरकारको प्राथमिकता भने शिक्षामा छ । विद्यालय जान नपाएका बालबालिकालाई वैकल्पिक सिकाइमा जोड्ने योजना रहेको सामाजिक विकास मन्त्री उषाकला राईले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विद्यार्थी एउटै प्रकारका छैनन् । कम्प्यूटर र इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई कसरी पढाउने भन्ने विषयमा छलफल गरिरहेका छौँ ।’
प्रदेश सरकार संघ र स्थानीय सरकारका पनि कोरोना केन्द्रित योजना छन् । तर बनेका योजना कार्यान्वयनमा भने अघिल्ला वर्षहरूमा झैं समस्या हुनसक्ने विज्ञहरू बताउँछन् ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८, १६:३१