काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले रोजगारका लागि भारत जाने युवाहरूलाई स्वदेशमै रोक्नको लागि कृषि उद्यमको विकासमा सरकारले प्राथमिकता दिएको बताउनु भएको छ ।
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा भएको कोभिड १९ र रोजगार तथा अवसरका लागि विदेशिने अर्थात थातथलो छोड्न बाध्य युवाहरूको सवाल सम्बन्धी छलफलमा उहाँले सरकारले युवा उद्यमीलाई सहयोग गर्ने नीति लिने बताउनुभयो ।
सुदूरपश्चिमबाट रोजगारका लागि भारत जाने युवाहरूलाई रोकेर नेपालमै उद्यमशील बनाउन सके सुदूरपश्चिम प्रदेश समृद्ध बन्ने उहाँको भनाइ छ ।
युरोपीयन युनियनको आर्थिक सहयोगमा भोलेन्टरी सर्भिस ओभर्सीज (भीएसओ), नेपाल युवा संस्था सन्जाल (आयोन), फ्रेन्डस् सर्भिस काउन्सिल नेपाल (एफएससीएन) र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को सहकार्यमा सञ्चालन भइरहेको युवा केन्द्रित प्रयास परियोजना अन्तरर्गत गरिएको छलफलमा स्थानीय सरकारका प्रतिनिधि अनि युवाको क्षेत्रमा काम गर्ने गैरसरकारी संघसंस्थाहरूको सहभागिता रहेको थियो ।
रोजगारका लागि भारत जाने युवाहरूको बारेमा अनुसन्धान गरिरहनुभएका सुदूरपश्चिम विश्व विद्यालयका उप प्राध्यापक दीपकचन्द्र भट्टले कोभिडको समयमा नेपाल फर्किने युवाहरूले भोगेको स्ङ्कटबाट पाठ सिकेर युवाले पनि स्वदेशमै उद्यम गर्ने बाटो अपनाउनु पर्ने र सरकारले पनि युवा केन्द्रित स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिनु पर्ने बताउनुभयो ।
मानवअधिकार आयोग केन्द्रीय कार्यालय आप्रावासन विभागका प्रमुख कमल थापा क्षेत्रीले भारतमा जाने युवाहरू सधैँ ठगिँदै र हिंसामा पर्दै आएकाले उनीहरूको मानवअधिकारको रक्षाका लागि भारतीय मानवअधिकार आयोगसँग सहकार्य भइरहेको बताउनुभयो ।
गैर सरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश इन्चार्ज भवराज रेग्मीले बैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने संघसंस्थाहरूले भारत जाने युवाहरूको अधिकार रक्षाका लागि काम गर्न नसकेको बताउनुभयो ।
उहाँले सञ्चारमाध्यमले पनि यो मुद्दालाई प्राथमिकता दिएर उठाउनुपर्ने धारणा राख्नुभयो । बझाङको केदारस्यु गाउँ पालिकाका उपाध्यक्ष निशा ठगुन्ना धामीले युवाहरूको स्वरोजगारको लागि उद्यमशीलतालाई सहयोग गर्ने कार्यक्रम पालिकाबाट ल्याउने बताउनुभयो ।
भीएसओ अन्तर्गतको प्रयास परियोजनाका व्यवस्थापक हंसराज जोशीले कोभिड १९ पछि भारतबाट फर्किएका युवालाई कृषिमा लगाउनको लागि स्थानीय सरकारले कार्यक्रम ल्याउने भनेर घोषणा गरे पनि कार्यान्वयन हुन नसकेकोमा दुखः व्यक्त गर्नुभयो ।
कार्यक्रममा सरकारका प्रतिनिधि, विज्ञ, यस क्षेत्रमा काम गर्ने सरोकारवाला निकायका प्रतिनिधि र सञ्चारकर्मीहरूले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका वरिष्ठ उपाध्यक्ष विष्णु अवस्थीले रोजगारका लागि भारत जाने युवाहरूको समस्या उठाउने र युवाहरूलाई स्वरोजगारमा लाग्न उत्प्रेरित गर्ने कार्यमा सामुदायिक रेडियोहरू प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८, २२:०२