फेटा, बारा । भलुही गाउँबाट छिर्ने जुनसुकै सवारी साधन देख्नेबित्तिकै केही बालबालिका फाट्टफुट्ट सडकमा निस्कन्छन् र हात थापेर केही मागेजस्तो सङ्केत गर्छन् ।
अवोध बालबालिका सडकमा भौँतारिँदै गरेको दृश्य देख्ने जो कोहीको मन एकछिन भए पनि पीडाले गह्रुङ्गो हुन्छ ।
यस्तो देखेर राहत बोकेर जाने कतिपयले बाटोमै वितरण गर्ने गरेको भए पनि स्थानीय सरकार र प्रशासनले एकद्वार प्रणाली लागु गरेपछि केही कमि आए पनि पूर्ण कार्यान्वयनमा आएको छैन ।
घर भित्र्याउने बेलाको गहुँका बाला, बढ्दै गरेका मकैका पात धुजाधुजा परेको मात्र देखिँदैन, बाँसका झ्याङ् जरैबाट ढलेका, ढलान घरका छत खसेका र रुखका हाँगा भूईँभरि झरेका छन् ।
छाना, नाना र पर्खाल हावाले उडाइदिएपछि लुगालत्ता माग्नेको सङ्ख्या सडकभरि देखिन्छ । आँधीहुरी आएको एक हप्ता बित्यो ।
सरकारको तर्फबाट आँधिबेहरी प्रभावितले त्रिपाल र टेण्ट पाए पनि ठूलो पानी र हुरी आउँदा यसले न धान्ला कि भन्ने चिन्ता त छ नै, ठूलो परिवारका लागि टेण्ट साँघुरो हुँदा असजिलो छ ।
सडक वरपरका नागरिकले राहत सामग्री दोहोर्याएर पाए पनि विन, बैठा, बरईलगायत समुदायको बासोबास रहेका भित्री बस्तिहरुमा अझैँ राहत पुग्न सकेको छैन ।
भर्वलियाका मीनादेवीका अनुसार एक मिनेटमा आँधीहुरीले सबै बस्ति तहसनहस बनाएर लग्यो । 'मेरा ५ सन्तान थिए, हामीले एक ठाउँमा उभिएर ज्यान जोगायौँ। हामीलाई घरदुवार, भाँडाबर्तन सबै चाहिन्छ ।' मीनादेवीले सीआईएनसँग भन्नुभयो ।
स्थानीय प्रशासनले एकद्वारा प्रणालीबाट राहत वितरणको निर्णय गरेको चार दिन बित्दा पनि स्थानीय जनप्रतिनिधि त्यो निर्णय लागु नभएकोमा गुनासो गर्छन् ।
सर्लाहीबाट राहत लिएर पुग्नु भएका सांसद् प्रमोद साहले सीआईएनसँग भन्नुभयो,' को बढी पीडित हो, को कम पीडित हो त्यस बारेमा बाहिरबाट आउनेलाई त जानकारी हुँदैन । पीडामा मल्हम लगाउने बारेमा स्थानीय सरकारले सबैभन्दा राम्रोसँग सोच, विचार गर्न सक्छन् ।'
पर्सालगायत क्षेत्रको मौसम केही दिनदेखि खराब छ । खराब मौसमबीच राहतको अपेक्षा गर्न नछोडे पनि ठूलो हुरीबतास आइहालेछ भने ज्यान कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ ।
एकद्वार प्रणालीबाट राहत वितरण होस् भन्नका लागि आफू फेटा पुगेको उहाँको भनाइ छ । सरकारको तर्फबाट आँधिबेहरी प्रभावितले त्रिपाल र टेण्ट पाए पनि ठूलो पानी र हुरी आउँदा यसले न धान्ला कि भन्ने चिन्ता त छ नै, ठूलो परिवारका लागि टेण्ट साँघुरो हुँदा असजिलो छ ।
टाउकोमा चोट लागेर घाइते हुनु भएका नथुनीप्रसाद पटेलले आँधीहुरी आउने रातमा हेलिकप्टरको जस्तो आवाज आएको र ढलान घर भत्किँदा परिवारका सबै सदस्य घाइते भएको बताउनुभयो ।
'हाम्रो ठूलो परिवार छ। छोरा, बुहारी सबै जना छौँ तर साँघुरो टेण्टमा बस्न मुस्किल हुने गरेको छ । यसमा सरकारले खासै वास्ता गरेको छैन ।' पटेलले सीआईएनसँग भन्नुभयो ।
कसैले राहत पाइरहने र कसैले कति पनि नपाउने अवस्थाको सन्तुलन नहुँदै, बारा, पर्सा लगायत क्षेत्रको मौसम केही दिनदेखि खराब छ ।
खराब मौसमबीच राहतको अपेक्षा गर्न नछोडे पनि ठूलो हुरीबतास आइहालेछ भने ज्यान कसरी जोगाउने भन्ने चिन्ता आँधीहुरी प्रभावित नागरिकमा थपिएको छ ।
प्रकाशित मिति: सोमबार, चैत २५, २०७५, १८:१५