काठमाडौँ । नेकपा एमाले अन्ततः विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
दल दर्ताका लागि अध्यक्ष नेपाल लगायत नेताहरु आयोगमा पुगेका थिए । दल दर्ताको निवेदन दिइए पनि प्रमाणपत्र भने नपाइएको नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार ९५ जना केन्द्रीय सदस्य एमाले समाजवादी पार्टीमा छन् भने राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका गरी ३१ जना सांसद सहभागी छन् । पूर्व एमालेका मात्रै ५८ जना केन्द्रीय सदस्य रहेको पनि उहाँले दावी गर्नुभयो ।
झलनाथ खनाललाई वरिष्ठ नेता बनाएर बाँकी सबै केन्द्रीय सदस्य रहेको पनि नेता पाण्डेले जानकारी दिुनभयो ।
'चुनाव चिन्हका बारेमा अझैँ टुङ्गो लागेको छैन । हामी छलफलमै छौँ, यसअघि नै आयोगमा दर्ता भएको एमाले नामको पार्टी र उसको चुनाव चिन्ह कलमको बारेमा छलफल भएको छ।' नेता पाण्डेले भन्नुभयो ।
निर्वाचन आयोगले दर्ताको प्रमाणपत्र दिएपछि मात्रै आफूहरु सरकारमा जाने उहाँले बताउनुभयो ।
नयाँ दलमा सहभागी नभएका भनिएका नेपाल पक्षका नेताहरु भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका बारेमा भने आफूले अहिले नै केही भन्न नसक्ने नेता पाण्डेले उल्लेख गर्नुभयो ।
प्रकाशित मिति: बुधबार, भदौ २, २०७८, १७:१३