नवलपरासी । गैँडाकोटमा रहेको विजय एफएम १०१.६ आजदेखि १८ औँ वर्षमा प्रवेश गरेको छ ।
विजय विकास स्रोत केन्द्र र विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगुवाइमा २०५७ सालमा स्थापित विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाले सामुदायिक रेडियो विजय एफएम सञ्चालन गरेको हो ।
जिल्लाकै पहिलो यो रेडियोले रेडियोले सत्र वर्षको यस यात्रामा विपन्न समुदायको आवाज, समावेशी आवाज र विकासका लागि सञ्चारको भूमिकाका रूपमा काम गर्दै आएको छ ।
वार्षिकोत्सवको पूर्व सन्ध्यामा रेडियोले विगतका वर्षहरुमा विभिन्न संघसंस्थासंग अन्र्तक्रिया गर्दै आएको भए पनि कोभिड १९ को कहरका बीच रेडियो र आवाजका माध्यमबाट जनचासोका सवालहरुमा काम गर्न संस्था प्रतिवद्ध रहेको संस्थाका अध्यक्ष भूमिराज चापागाईंले बताउनुभयो ।
कोरोना त्रासका बीच भव्य कार्यक्रम गर्न नसकिएको जनाउँदै उहाँले रेडियोलाई यस स्थानसम्म ल्यापुर्याउन सहयोग गर्नुहुने सबैमा आभार व्यक्त गर्नुभएको छ ।
रेडियोले अहिले पनि विजय विकास स्रोत केन्द्रसंगको सहकार्यमा स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रम उत्पादन गरेर जिल्ला अन्य संचारमाध्यमबाट प्रसारण गर्दै सचेतना फैलाउने काम गरिरहेको सामुदायिक रेडियो विजय एफएम १०१.६ का स्टेशन म्यानेजर श्रीधर उपाध्यायले बताउनुभयो ।
म्यानेजर उपाध्यायले कोभिड १९ का कारण समुदाय नराम्रोसंग प्रभावित बनिरहेको अवस्थामा कोभिड पछि अवस्था र कोभिड न्यूनिकरणका लागि रेडियोसंग हातेमालो गरेर अघि बढ्न सबै संघसंस्थालाई आग्रह समेत गर्नुभएको छ ।
सामुदायिक रेडियो तथा पत्रिकाले अहिले पनि शिक्षा, स्वास्थ्य, वित्तीय शिक्षा, विकास र सुशासन, मनोरञ्जनलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
स्थापनाकालदेखि नै आवाजविहीनहरुको आवाजका रुपमा समाजका कुनाकुनासम्म पुगी समाजमा विद्यमान सामाजिक, आर्थिक, सांस्कृतिक विभेद, अन्धविश्वास, लैङ्गिक हिंसाको, न्यूनीकरण एवं नागरिकको विकासका लागि अविश्रान्त र अविचलित भई सशक्तरूपमा सूचना तथा सन्देश सञ्चार गर्दै आइरहेको छ ।
प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८, १५:५५