दोहा । सभामुख कृष्णबहादुर महरा र पाकिस्तानको राष्ट्रिय सभाका सभामुख असद आइसरबीच शिष्टाचार भेटवार्ता भएको छ ।
अन्तर व्यवस्थापिका सङ्घ (आइपियू )को १४० औँ सभामा सहभागी हुन कतार आएका पाकिस्तानका सभामुखसँग दोहामा महराले शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
भेटवार्ताका क्रममा सभामुख महराले नेपाल–पाकिस्तानबीच कुटनीतिक सम्बन्ध घनिष्ठ रहेको चर्चा गर्दै आगामी दिनमा पनि त्यसलाई थप बलियो बनाउँदै लैजानुपर्ने बताउनुभयो ।
भेटमा दुवै देशका सभामुखहरुले आ–आफ्नो देशको संसदीय अभ्यास, परम्परा र अनुभव आदानप्रदान गर्नुभएको थियो । साथै विश्व शान्ति र मानव अधिकारका लागि संसदको भूमिका महत्वपूर्ण हुनेमा दुवै देशका सभामुखको एक मत थियो ।
सभामुख महराले नेपालको संसदका तर्फबाट गठन गरिएको नेपाल–पाकिस्तान संसदीय मैत्री सङ्घको नामावली पाकिस्तानका सभामुखलाई हस्तान्तरण गर्नुभएको थियो ।
जवाफमा पाकिस्तानका सभामुख असदले आफूहरुले पनि चाँडै पाकिस्तान–नेपाल संसदीय मैत्री सङघको गठन गर्ने बताउनुभएको थियो । उहाँले नेपालसँगको सम्बन्ध बलियो रहेको भन्दै संसदीय मैत्री सङ्घले कुटनीतिक मात्रै नभई राजनीतिक सम्बन्ध प्रगाढ बनाउन थप टेवा दिने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेको जानकारी गराउँदै सभामुखसहितको टोलीलाई नेपाल भ्रमणका लागि सभामुख महराले आग्रह गर्नुभएको थियो ।
सभामुख महराले बङ्गलादेशको संसदका सभामुख डा. शिरिन शर्मिन चौधरीसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा आ आफ्नो देशको संसदीय अभ्यास, परम्परा र अनुभव आदानप्रदान उहाँहरुले गर्नु भएको थियो ।
सभामुख महराले नेपालको संसदका तर्फबाट गठन गरिएको नेपाल बङ्गलादेश संसदीय मैत्री सङ्घको नामावली बङ्गलादेशका सभामुखलाई हस्तान्तरण गर्नुयो ।
प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५, १४:१६