गुराँस गाउँपालिकाका बालक्लबहरु पछिल्लो समयमा बिद्यालयमा बृक्षरोपण गर्नमा सक्रिय देखिएका छन् । लामो समय लकडाउन भए पनि गुराँस गाउँपालिकाका बालक्लबका बालबालिकाहरु कुनै न कुनै सिर्जनात्मक काममा व्यस्त देखिन्छन् । बालक्लबले आफ्नो कार्ययोजना निर्माण गरी बर्ष भरी सञ्चालन गर्न सकिने क्रियाकलापहरु तय गरेका छन् ।
दुई ओटा बालक्लबका बालबालिकाले त्यसै अनुरुप बिद्यालयमा बगैचा निर्माणको काम थालेका हुन् । सुनगाभा बालक्लब गुराँस–४ घोडाबास र प्रगतिशिल बालक्लब गुराँस–५ गोगनपानीका बालक्लबले विद्यालय परिसरमा वृक्षरोपण गरेका हुन् ।
बिद्यालयको वातावरण शान्त र स्वच्छ निर्माण बनाउने उद्धेश्यले बिद्यालयमा बृक्षरोपण गर्न थालिएको प्रगतिशिल बाल क्लबका अध्यक्ष मोहन सुनारले बताउनुभयो । बालक्लबमा बसेको धेरै समय भएपनि यो काम हामीले नयाँ गरेका हौं, बिद्यालयमा सुन्दर बैगैँचा निर्माण पनि महत्वपूर्ण काम भएको महशुस गरेको छु, मोहन सुनारले भन्नुभयो ।
प्रगतिशिल बालक्लबका करिब २० जना बालबालिकाको सहभागीतामा एक सय जति बिभिन्न प्रजातिका फुुलका बिरुवा रोपिएको हो । बालक्लबले लकडाउनको समयमा कोरोना भाइरसबाट बच्ने तरिकाका बारेमा पनि घर समुदायमा आचार संहिता तथा कार्ययोजना निमार्ण गरेका थिए ।
सामाजिक सेवा केन्द्र सोसेक नेपाल, दैलेख र सेभ द चिल्ड्रेनको साझेदारी तथा गुराँस गाउँपालिकाको समन्वयमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले बालबालिकाको क्षमता बिकासको लागी बिभिन्न खालका क्रियाकलापहरु सञ्चालन गरेको छ । बालक्लबको गठन तथा पुर्नगठन अतिरिक्त क्रियाकलाप तालिम सञ्चालान गर्ने गरेको परियोजनाका प्रमुख नवराज बि.सीले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८, १९:२५