काठमाडौँ । नेपाली काँग्रेसभित्रको क्रियाशील सदस्यताको विवाद टुङ्गिएको छ ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा हिजो बसेको शीर्ष नेताहरू सम्मिलित बैठकले सहमतिमै लामो समयदेखि थाँती रहेको क्रियाशील सदस्यताको विवाद मिलाएको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सीआईएनसँग बताउनुभयो ।
क्रियाशील सदस्यको छानबिनको अन्तिम टुङ्गो लगाउन गठित समितिले गएराति सहमतिको प्रतिवेदन सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाएको छ ।
क्रियाशील सदस्यता विवाद समाधान भएपछि पार्टी अब पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै महाधिवेशनको लागि जुट्ने प्रमुख सचिव पौड्यालको भनाइ छ ।
उहाँले अब मतदाता सामग्री लिएर मतदान अधिकृत जतिसक्दो छिटो सबै जिल्लामा पुग्ने बताउनुभयो । गत फागुनदेखि क्रियाशील सदस्यताको छानबिन सुरु भएको थियो ।
यसअघि केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित कार्यदलले साउन १२ गते क्रियाशील सदस्यताको प्रतिवेदन सभापति देउवालाई हस्तान्तरण गरेको थियो तर सो प्रतिवेदनले केही जिल्लाको विवाद समाधान गर्न बाँकी थियो ।
अन्य राजनीतिक दलबाट काँग्रेसमा प्रवेश गरेका व्यक्तिका लागि न्यूनतम मापदण्डका आधारमा क्रियाशील सदस्यता दिइने सहमति नेताहरूले गरेको काङ्ग्रेसले जनाएको छ ।
पौडेल पक्षका जिल्ला सभापतिको अनशन
काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरूले धर्ना दिने भएका छन् ।
गएराति नै क्रियाशील सदस्यता विवादसम्बन्धी सहमति भए पनि पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक नगरेसम्म पार्टी कार्यालयमा धर्ना बस्ने जिल्ला सभापतिहरूले बताएको नेता पौडेलले सीआइएनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार सभापति देउवाले भने समस्या समाधान भइसकेको भन्दै सूची सार्वजनिक नगर्ने बताउनुभएको छ ।
यसअघि जिल्ला सभापतिहरूले यही साउन ७ गतेभित्र क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, विधि विधान र मापदण्डअनुसार छानबिन गरी सदस्यता सूचीलाई अन्तिम रुप दिनुपर्ने र सबै जिल्ला सभापतिको निर्वाचन प्रक्रियामा एकरुपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राखेका थिए ।
समयसीमाभित्र माग सम्बोधन नभएपछि आजदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा नेता पौडेल निकटका जिल्ला सभापतिहरू धर्ना बस्न लागेका हुन् ।
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८, ०९:५६