काठमाडौँ । पार्टीमा देखिँदै आएको विवाद समाधानका बारेमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ ।
बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा दिउँसो ३ बजे बस्ने तय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बिहान ११ बजेका लागि बैठक तय भए पनि आकस्मिक रुपमा दिउँसोका लागि सारिएको उहाँको भनाइ छ ।
प्रवक्ता ज्ञवालीका अनुसार बैठकले एमाले विवाद समाधान गर्न गठिन कार्यदलमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न प्रक्रिया अघि बढाउने, दल विभाजन नगर्न अनुरोध गर्ने र केन्द्रीय कमिटी बैठकको मिति तोक्ने बारेमा आजको बैठकले निणर्य गर्ने सम्भावना छ ।
माधवकुमार नेपालसहितका नेताहरु पार्टीबाट अलग्गिएर नयाँ पार्टी गठनको प्रक्रियामा गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो धारका नेताहरूसँग सहमति गर्ने बारेमा नरम देखिनुभएको छ ।
हिजो एकता पक्षधर नेताहरूबीचमा भएको छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने बारेमा सैद्धान्तिक सहमति भएको छ ।
१० बुँदे अनुसार पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव इश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई जिम्मा दिइएको छ ।
१० बुँदे अनुसार २०७५ साल जेठ २ गते कायम भएका नेकपा एमालेका केन्द्रदेखि प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, गाउँ, वडा, टोल सम्मका सम्पूणर् कमिटी क्रियाशील हुने छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८, १०:११