भकुन्डेबसी । सामान्यतया विद्यालयमा हुने गतिविधि के के हुन् ? ‘विद्यार्थी, शिक्षकबीच पठनपाठन, अतिरिक्त क्रियाकलाप, आदि ।’ धेरैको जवाफ यस्तो हुनसक्छ ।
तर काभ्रेको एक विद्यालयले तरकारी खेतीदेखि कुखुरा पालन उपचार, पोष्टमार्टमका कामसमेत सिकाउन थालेपछि विद्यार्थी पनि खुसी भएका छन् ।
२ वर्षअघि नमूना विद्यालयको रूपमा घोषणा भएको काभ्रेको नमोबुद्ध नगरपालिकामा रहेको जनक माध्यामिक विद्यालयले जग्गा लिजमा लिएर तरकारी खेती गरिरहेको छ ।
विद्यालयकै अग्रसरतामा ५ सय कुखुरा पालिएका छन् । तरकारी खेती र कुखुरा पालनको व्यवस्थापनका लागि विद्यालयले १५ जना विद्यार्थीको समिति बनाइदिएको छ ।
जनक उद्यम विकास समितिका सदस्य, विद्यार्थी सन्या खनाल भन्नुहुन्छ, ‘तरकारी खेतीको आधुनिक प्रविधिका बारेमा जानकारी लिनका लागि हामीलाई सजिलो भएको छ ।
तरकारी खेतीको बारेमा जानेको सीप, क्षमता बारे हामीले समुदायस्तरमा पनि जानकारी दिँदै आएका छौँ । यसबाट निकै राम्रो भएको हामीले अनुभव गरेका छौँ ।’
विद्यार्थीमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिनका लागि विद्यालयले १ वर्ष अघिदेखि तरकारी खेती अनि कुखुरापालन गर्दै आएको छ ।
कुखुरालाई खोप लगाउने र मरेका कुुखुराको पोष्टमार्टम पनि आफूहरूले नै गर्दै आएको जनक उद्यम विकासका अर्का सदस्य रोजेन्द्र श्रेष्ठको भनाइ छ ।
तस्विर सौजन्यः जनक मावि । विद्यालयमा प्रयोगात्मक रूपमा गरिने अभ्यासले समुदायमा देखिने समस्या समाधन गर्न सजिलो भएको उहाँले बताउनुभयो । विद्यालयमा पशु विज्ञान विषय अध्ययनरत विद्यार्थीको सङ्ख्या १ सय १५ रहेको छ ।
उनीहरूले कुखुरा फर्ममा मात्रै होइन, आफ्नो घर वरपर देखा परेका पशुचौपायासम्बन्धी जस्तैः खोरेत, नाम्ले लगायतको समस्या पहिचान, परामर्श तथा समाधान गर्ने गरेका छन् ।
आगामी योजना बारे सुनाउँदै जनक उद्यम विकासका अध्यक्ष, विद्यार्थी विवेक पकवालले भन्नुभयो, ‘खेती र पशुपालन विस्तार गदै जाने योजनामा छौँ । भैँसी पालन सुरुवात गर्नुका साथै ब्रोईलर कुखुरा पालनलाई बढाउने र तरकारी खेती लाई निरन्तरता दिँदै जाने तयारीमा हामी छौँ ।’
यहाँ उत्पादन भएका टमाटर तथा अन्य तरकारी केही विद्यालयबाटै बिक्री हुन्छ भने केही बजारमा लगेर बेच्ने गरिएको छ ।
बागमती प्रदेश सरकारले सुरु गरेको ‘एक विद्यालय, एक उद्यम’ कार्यक्रम अन्तर्गत जनक माध्यमिक विद्यालयमा पशुपंछी तथा तरकारी कार्यक्रम गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक प्रदिप पोखरेलका अनुसार कुखुरा पालन र तरकारी खेती गर्नुको मुख्य उद्धेश्य विद्यार्थीले परियोजना कार्य गर्न सकून् र प्राक्टिकलका काम पनि यहीँ गर्न पाईयोस भन्ने रहेको छ ।
बागमती प्रदेश सरकारको ६ लाख रुपैयाँ, विद्यालयको १ लाख अनुदान र सिप्रेड नामक संस्थाको प्राविधिक सहयोगमा कृषि तथा पशुपंछी पालन कार्यक्रम सुरु गरिएको हो ।
यसबाट विद्यार्थीमा प्राविधिक र व्यावसायिक सीपकको विकास हुने अपेक्षा विद्यालयको छ ।
यसबारेको अडियो सुन्नुहोस्ः

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८