आन्दोलनबाट प्राप्त अधिकारलाई संस्थागत गर्नुपर्ने आवश्यकता औंल्याउँदै उपाध्यक्ष दाहालले अपाङ्गमैत्री कानून निर्माण र त्यसको कार्यान्वयनका लागि आफूले सधैं पहल गर्ने प्रतिबद्वता समेत व्यक्त गर्नुभयो ।
काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले नेपालको अपाङ्गता आन्दोलन अन्धविश्वासलाई चिरेर अधिकारको युगमा प्रवेश गरेको बताउनुभएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघले आफ्नो २८ औं स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।
दाहालले भन्नुभयो, ‘कुनै समय थियो, कुनै परिवारमा अपाङ्गता भएका व्यक्ति जन्मियो भने उसका बा आमाले गरेको पापको नतिजाको रुपमा व्याख्या गरिन्थ्यो । त्यो परिवारलाई नै हेलाको दृष्टिले हेरिन्थ्यो । तर, अहिले समय त्यस्तो छैन । अहिले हामी अपाङ्गता भएका व्यक्तिको अधिकारका विषयमा बहस गरिरहेका छौं ।’
उपाध्यक्ष दाहालले अन्धविश्वासको त्यो समयदेखि आजसम्म अपाङ्गता अधिकारका लागि निरन्तर खटिएका अधिकारकर्मीहरूलाई धन्यवाद दिंदै यो सफलताका लागि बधाई समेत दिनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि बनेका कानून प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
अपाङ्गता भएका व्यक्तिहरूको हकहितलाई मध्यनजर गर्दै विभिन्न समयमा थुप्रै राम्रा कानूनहरू निर्माण भएको भन्दै उहाँले बनेका कानून प्रभावकारी रुपमा कार्यान्वयन हुन सके अपाङ्गता भएका व्यक्तिहरूका धेरै समस्या समाधान हुने बताउनुभयो ।
आन्दोलनबाट प्राप्त अधिकारलाई संस्थागत गर्नुपर्ने आवश्यकता औंल्याउँदै उपाध्यक्ष दाहालले अपाङ्गमैत्री कानून निर्माण र त्यसको कार्यान्वयनका लागि आफूले सधैं पहल गर्ने प्रतिबद्वता समेत व्यक्त गर्नुभयो ।
अपाङ्गता भएका नागरिकका सवाल सबैको साझा सवाल भएको भन्दै उहाँले हरेक नागरिकले आ–आफ्नो क्षेत्रबाट आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । दहालले भन्नुभयो, ‘अपाङ्गता भएका व्यक्तिले भोग्नुपरेको समस्या, संकुचित भएको उनीहरूको अधिकार र आधारभूत सेवा सुविधा सबैको सवाल हो । अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि संसदले अझै परिष्कृत कानून निर्माण गर्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’
अपाङ्गता भएका व्यक्तिले अझै पनि शारीरिक र मानसिक रुपमा विभिन्न खालका हिंसा सहनुपरेको खबर सुन्दा दुःख लाग्ने भन्दै उहाँले परिवारबाटै यस्ता व्यक्तिहरूको स्याहार र सम्मानमा विशेष ख्याल गर्न आग्रह गर्नुभयो । महामारीको समयमा अपाङ्गता भएका व्यक्तिहरूले अन्य व्यक्तिले भन्दा बढी हिंसा र समस्या भोग्नु परेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि दाहालले महासंघले प्रकाशन गरेको दुईवटा पुस्तक (अपाङ्गता समावेशी स्थानीय विकास सहजीकरण पुस्तिका र क्षमता विकास सम्बन्धी तालिम सहजीकरण पुस्तिका) सार्वजनिक गर्नुभएको थियो ।
यसैबीच स्थापना दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघले पूर्वअध्यक्षहरूलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेहरूमा डा. वीरेन्द्रराज पोखरेल, दीपक कोइराला, निर्वतमान अध्यक्ष सुदर्शन सुवेदी, संस्थापक अध्यक्ष निर्मल देवकोटाकी पत्नी लक्ष्मी देवकोटा, पूर्वअध्यक्ष सुशीला पौडेल, पूर्वअध्यक्ष स्वर्गीय मुनिश्वर पाण्डेकी पत्नी निर्मला धिताल लगायत रहनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका पूर्वअध्यक्ष डा. वीरेन्द्रराज पोखरेल, निर्वतमान अध्यक्ष सुदर्शन सुवेदी, महासंघका संघीय अध्यक्ष मित्रलाल शर्मा, उपाध्यक्ष रमा ढकाल लगायतले मन्तव्य राख्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८, ११:१७