काठमाडौँ । भारतमा आज केन्द्रीय संसद् (लोकसभा) को निर्वाचन सुरु भएको छ ।
भारतको निर्वाचन आयोगले १७ औं लोकसभा निर्वाचनका लागि सात चरणको तालिका यसअघि नै बनाएको थियो । ११ अप्रिलदेखि सुरु पहिलो चरणको निर्वाचन १९ मेमा सकिनेछ ।
मतगणना भने त्यसको चार दिनपछि २३ मेमा हुनेछ । यसपटकको चुनावमा करिब ९० करोड भारतीयले मतदान गर्नेछन् । सन् २०१४ को चुनावको तुलनामा यो ९ करोडले बढी हो ।
यसपटकको चुनावमा आठ करोडभन्दा बढी मतदाताले पहिलो पटक आमनिर्वाचनमा आफ्नो मत खसाल्दै छन् । आज पहिलो चरणमा विभिन्न २० राज्यका ९१ लोकसभा सदस्यका लागि चुनाव हुँदैछ ।
आन्ध्रप्रदेशका सबै २५, तेलंगानाका सबै १७, उत्तर प्रदेशका आठ, महाराष्ट्रका सात, उत्तराखण्डका पाँच, आसामका पाँच, बिहारका चार, ओडिसाका चार, पश्चिम बंगालका २, जम्मुकश्मीरका दुई स्थान र अन्य सिक्किम, नागाल्यान्ड, मिजोरमलगायत विभिन्न राज्यमा मतदान हुनेछ ।
भारतीय जनता पार्टीका नेता तथा मोदी मन्त्रिमण्डलका वरिष्ठ मन्त्री नीतिन गडरी र विदेश राज्यमन्त्री तथा पूर्व सेनाअध्यक्ष बीके सिंहका क्षेत्रमा पनि आजै चुनाव हुँदैछ ।
करिब डेढ महिनासम्म चल्ने चुनावलाई राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) नेतृत्वको नरेन्द्र मोदी सरकारले विगत पाँच वर्षमा गरेका कामको भारतीय मतदाताले लिने परीक्षाका रूपमा हेरिएको छ ।
हालसम्म सार्वजनिक भएका मत सर्वेक्षणहरूले सन् २०१४ मा जस्तो कुनै पनि एक पार्टीले बहुमत नल्याउने र त्रिशंकु संसद् रहने पूर्वानुमान गरेका छन् । सन् २०१४ को चुनावमा ५४३ मध्ये भाजपा एक्लैले २८२ स्थानमा जितेको थियो भने एनडीए कुल सिट संख्या ३३६ थियो ।
विपक्षी कंग्रेस ४२ स्थानमा सीमित भएर इतिहासकै नमीठो हार व्यहोरेको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५, ०९:१८