काठमाडौँ । साझा यातायात सहकारी संस्थाले अबको ५ महिनाभित्र विद्युतीय बस सञ्चालन गर्ने जनाएको छ ।
सरकारले विद्युतीय बस खरिद गर्न सेयर लगानीका रूपमा साझा यातायात सहकारी संस्थालाई २०७६ असोज ३० गते तीन अर्ब उपलब्ध गराएको थियो ।
बीचमा रोकिएको खरिद प्रक्रिया २०७७ माघ २६ गतेको मन्त्रिपरिषद् बैठकले खुल्ला गर्ने निणर्य गरेपछि ४० वटा बस खरिद गर्न गत वर्षको चैत्र १३ गते बोलपत्र आह्वान गरेको छ ।
सोही अनुसार ९ वटा चिनिया कम्पनी विद्यूतिय बस खरिदका लागि इच्छुक देखिएका छन् ।
साझा यातयात सञ्चालक सदस्य भुषण तुलाधारले खरिद प्रक्रिया पुरा गर्न करिव १ महिना लाग्ने र त्यसपछिको ४ महिनामा कम्तिमा ३ वटा बस ल्याउने जानकारी दिनुभयो ।
तुलाधारले भन्नुभयो, ‘ती ३ वटा बसको परिक्षण सफल भएमा अर्को ४ महिनामा ४० वटै बस ल्याएर सञ्चालन गर्नेछौँ, बाँकी बस क्रमश खरिद गर्दै जाने साझा यातयातको योजना छ ।'
सरकारले विद्युतिय सवारी साधनलाई प्राथमिकतामा राख्ने निणर्य गरिसकेको छ । सोही अनुसार २०७५ पुसमा नै कम्तिमा ३ सय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने नीतिगत निणर्य गरेको थियो ।
विद्युतीय बस वातावरणमैत्री र अपाङ्गमैत्री हुने भएकाले पनि यसको प्रयोगमा जोड दिनुपर्ने ललितपुर महानगरपालिका ७ का दुर्गा बहादुर श्रेष्ठले बताउनुभयो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ कात्तिक ६ गते विद्युतीय बसको उद्घाटन गर्दै अब विद्यूतिय सवारी साधनलाई प्राथमितामा राख्ने बताउनुभएको थियो ।
यातयात व्यवस्था विभागका महानिर्देशक नमराज घिमीरेले विद्युतीय बस सञ्चालनका लागि सरकारले चालु आर्थिक वर्षको बजेटमा पेट्रोलियम पदार्थबाट सञ्चालित सवारी साधनलाई विद्युतीयमा रुपान्तरण गर्न प्रोत्साहन गर्ने नीति लिएको बताउनुभयो ।
सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा विद्युतीय सवारीसाधनको प्रयोगलाई देशव्यापी बनाउने, ०७७/७८ को बजेटमा विद्युतीय सवारी चार्जिङ स्टेशन स्थापना गर्ने बताएको थियो भने २०८८ सम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीसाधनले विस्थापित गर्ने उल्लेख छ ।
अहिले देशभरि सात सयभन्दा बढी विद्युतीय सफा टेम्पो, ७ सय बढि कार, लगभग ४ हजार दुई पाङ्ग्रे विद्युतीय सवारी साधान सञ्चालनमा छन् ।
विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउदा इन्धन खर्च २५ प्रतिशत घट्ने छ भने मर्मत खर्च कम लाग्नुका साथै वातावरणमैत्री पनि हुने छ ।
यसबारेको अडियो सुन्नुहोस्
प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८, ०७:१६