काठमान्डु । कैलाली र अर्घाखाँचीमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।
गएराति ११ बजेतिर कैलालीको गौरीगंगा नगरपालिका–४ राजिपुरमा म १ ज ३१९ नम्बरको विईङ्गर र से १ ह २५१० नम्बरको अटो ठोक्किँदा घाइते भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले सीआइएनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा परी अटोमा सवार कैलाली घोडाघोडी नगरपालिका ९ का २४ वर्षका युवराज चौधरी, २६ वर्षका भिगम चौधरी र १९ वर्षका जितेन चौधरीको मृत्यु भएको हो ।
यस्तै अटो चालक घोडाघोडी नगरपालिका ९ का २२ वर्षका सुरेश चौधरी, २४ वर्षका दिपेन्द्र चौधरी, २० वर्षका असान्त चौधरी र ३० वर्षका हरी चौधरी घाइते हुनुभएको छ । उहाँहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताउनुभयो ।
विईङगर सहचालक कन्चनपुर बेदकोटका २५ वर्षका धनु रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सहचालकले विईङगर चलाएकाले दुर्घटना भएको प्रहरीको अनुमान छ । यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै अर्घाखाँचीमा माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरु सात जना घाइते भएका छन् । काठमाडौंबाट अर्घाखाँची गैरहेको बा ३ ख ८६३९ नम्बरको माइक्रो आज बिहान शितगंगा ३ मा बाटोबाट झण्डै ४ सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय ठाँडाले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाएका पुरुषको परिचय खुलेको छैन । घाइते सात जनालाई उपचारका लागि भैरहवा पठाइएको छ । माइक्रोमा चालकसहित ११ जना थिए । जसमध्ये तीन जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८, ०७:५५