काठमाडौँ । कोरोना महामारीका कारण नेपालको व्यापार, व्यवसाय, रोजगारीका सबै काम ठप्प भए । आर्थिक तथा व्यावसायिक काम अघि बढ्न नसके पनि गलैँचा उद्योगका श्रमिकले काम र दाम दुवै पाएका छन् ।
काममा कुनै अवरोध नभएपछि गत वर्ष गलैँचा निर्यात बढेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । १७ वर्षको उमेरमा गलैँचा कारखानामा प्रवेश गर्नुभएका श्याममाया तामाङ अहिले ५० वर्षको हुनुभयो ।
उहाँ श्रीमानसँगै एउटै तानमा गलैचा बुन्नुहुन्छ । कोरोनाले सबैको रोजगारी खोसिएको सुन्नुभएका उहाँले आफ्नो रोजगारी भने गुमाउन परेन । तामाङ भन्नुहुन्छ, ‘कोरोनाको बेला पनि हामीले सँगै सधैँ काम गरेका छौँ । गलैँचा बुन्न सिकेदेखि अहिलेसम्म खाली हात बस्नुपरेको छैन ।’
अधिकांश गलैँचा कारखानाले श्रमिकका लागि कारखाना क्षेत्रभित्र आवासको व्यवस्था गर्ने गर्छन् । त्यसैले पनि श्रमिकहरू बाहिर जानुपर्दैन, नियमीत काम चलिरहन्छ ।
सिन्धुपाल्चोकका छेसाङ तामाङले २०४४ सालबाट गलैँचा बुन्न सुरु गर्नुभएको थियो । अहिले उहाँको छोरा पनि आफूसँगै गलैँचा बुन्नुहुन्छ । गलैँचा बुन्न थालेको ३४ वर्ष भए पनि ज्याला भने सन्तोषजनक छैन ।
‘न त्यतिबेला ज्याला राम्रो थियो न अहिले छ, बिहानदेखि बेलुकासम्म काम गर्दा मुस्किलले ५ सय कमाइ हुन्छ । ज्याला बढ्नु भन्दा अघि रासनको भाउ बढ्छ ।’ तामाङको गुनासो छ ।
गलैँचा बुन्ने श्रमिकहरू बिहानको ४ बजे कारखानामा पुगिसकेका हुन्छन् । खाना र खाजा खाने समयबाहेक बेलुकाको करिव ७ बजेसम्म उनीहरू गलैचा बुन्छन् तर महिनाको कुल कमाइ बढीमा १२ हजार हुन्छ ।
गलैँचा बुनाइ सिक्न कम्तिमा ३ महिना लाग्छ । गलैँचा कारखानामा करिव २० वर्षदेखि ५५ वर्ष उमेर समूहका महिलापुरुष बराबरी भेटिन्छन् ।
अधिकांश श्रीमानश्रीमती एक साथ तान लगाउँछन् । उदयपुर गाइघाटका रबिना भुजेल श्रीमानसँगै प्रत्येक दिन गलैँचा बुन्नुहुन्छ ।
१२ वर्षअघि गाउँका दाइहरूले गलैँचा बुन्न जाउँ भनेपछि काठमाण्डौँ आउनु भएका उहाँ गलैँचा बुन्ने सीपले घरव्यवहार चलाउन सहज भएको बताउनुहुन्छ ।
नेपालमा १ हजारभन्दा धेरै गलैँचा उत्पादन गर्ने कारखाना दर्ता भएका छन् । तीमध्ये ५ सयले नियमित निकासी गर्छन् । नेपालबाट पहिलो पटक सन् १९५४ मा स्वीटजरल्याण्डमा गलैचा निर्यात गरिएको थियो ।
तिब्बतका नागरिक नेपाल आएका बेला गलैचा बुनेको देखेपछि नेपालीले पनि गलैचा बुन्न सिकेको बताइन्छ । नेपालको उनी गलैचा सबै भन्दा बढी अमेरिका, जर्मनी, अष्ट्रेलिया, चाइना लगाएतका देशमा निर्यात हुन्छन् ।
आर्थिक वर्ष २०७६/७७ मा ६ अर्व १५ करोड ७७ लाख ६ हजार रुपैयाँको गलैँचा निर्यात भएको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा १७.६ प्रतिशले बढेर ७ अर्व २४ करोड ४० लाख ५० हजार रुपैयाँको उनी गलैचा निर्यात भएको केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहले बताउनुभयो ।
उपनिर्देशक सिंह भन्नुहुन्छ, ‘घरमै बसेर कारखानामा पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर गलैँचा बुन्न सकिन्छ । त्यसैले गलैँचा उत्पादनमा कोरोनाले असर गरेन, निर्यात बढ्यो ।’
गत वर्ष नेपालबाट निर्यात हुने सामग्रीमा दोस्रो स्थानमा उनी गलैँचा छ । यसले निर्यातको कुल प्रतिशतमा ५.१ प्रतिशत हिस्सा ओगटेको छ ।
यस बारेको अडियो सुन्नुहोस्ः
प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८, १४:३०