काठमाडौँ । सरकारले यही भदौ २३ गतेका लागि सङ्घीय संसदकाे दुवै सदनको बैठक आह्वान गर्न सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानुन नयाय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार सरकारले सदन चलाउने जिम्मेवारी अनुसार निर्णय गरेको हो । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि आफूले बैठक चलाउने बारेमा छलफल गरेको उहाँको भनाइ छ ।
सीआईएनसँग कुराकानी गर्दै एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरु जिम्मेवार प्रमुख प्रतिपक्षीको भूमिकामा प्रस्तुत हुने बताउनुभयो ।
'सरकारले एमाले पार्टी फुटाउनका लागि नै एकाएक सदन अन्त्य गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको पुष्टि भइसकेको छ । स्थानीय र प्रदेशमा पनि एमाले फुटाउने अभियान चलाइएको छ । २२ गत्तेसम्म यसलाई जारी राखेर भोलिपल्ट संसद बोलाइएको छ ।' नेम्वाङले भन्नुभयो ।
संसदको बैठक चल्न दिने वा नदिने भन्ने बारेमा पार्टीले केही दिनमा निर्णय लिने पनि नेम्वाङले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८, १६:२२