सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका बाढी प्रभावितलाई व्यवस्थापन र भत्किएका संरचनाको पुनःनिर्माणको काम तत्काल सुरु गर्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिनुभएको छ ।
आज बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन गर्न हेलम्बु र मेलम्ची पुग्नुभएका गृहमन्त्री खाँणले मेलम्ची र ईन्द्रावती नदीमा आएकोे बाढीबाट हुने क्षति कम गर्न विभिन्न स्थानमा चेकड्याम बनाउनुपर्ने बताउनुभयो ।
मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स तथा बस्तिहरु बचाउनका लागि कहाँकहाँ कतिवटा ड्याम बनाउनु पर्ला भनेर विस्तृत अध्ययन गरिने उहाँले बताउनुभयो ।
गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर-२ गणेशबजार क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो ।
गृहमन्त्रीसहितको टोलीमा सांसद शेरबहादुर तामाङ, पूर्व मन्त्री मोहनबहादुर बस्नेत, योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल, प्रदेशसभा सदस्य युवराज दुलाल र निमा लामा, गृह सचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुन थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सहभागी हुनुहुन्थ्यो ।
गत असार १ र साउन १६ गतेको आएको वर्षाको कारण त्यस क्षेत्रमा ५ जनाको मृत्यु भएको थियो भने ६ घाइते हुनुका साथै २० वेपता छन् । बाढीपहिरोले १५ पुल, सडक खेत र सयौँ घर टहरासहित ठूलो धनजनको क्षति भएको थियो ।
प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८, १७:२६