काठमाडौँ । रोल्पामा पहिरोले पुरिएर ५ वर्षका बालकसहित २ जनाको मृत्यु भएको छ ।
निरन्तरको वर्षाका कारण घरमाथिबाट पहिरो खस्दा रोल्पा नगरपालिका वडा नम्बर १० बाम्लाका पूणर्बहादुर थापाको घर पुरेको थियो ।
पहिरोमा परी थापाका श्रीमती ७० वर्षिया गौरी थापा र ५ वर्षका एक बालकको मृत्यु भएको अनि अरु २ जना घाइते भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले सीआईएनलाई जानकारी दिनुभयो ।
रोल्पाकै सुनिलस्मृति गाउँपालिका ४ को फगाम खोलामा आएको बाढीले एउटा बस बगाएको छ । बिहान करिव साढे ६ बजे खोला छेउमा रहेको वर्कसपमा बाढी पस्दा मर्मतका लागी राखिएको एउटा बस बगाएको प्रहरीले जनाएको छ ।
१ सय ४० भन्दा धेरै व्यक्तिलाई सुरक्षित स्थानमा सारियो
गएरातिदेखिको लगातारको वर्षाका कारण जोखिममा परेका १ सय ४० भन्दा धेरै व्यक्तिलाई काठमाडौँबाट प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।
नेपाल प्रहरीका प्रवक्ता बसन्त कुवँरका अनुसार बल्खुको तरकारी बजार, बालाजुको नेपालटार, शङ्खमुल लगायतका बिभिन्न स्थानबाट उनीहरुलाई उद्धार गरिएको हो ।
बाढीका कारण काठमाडौँमा ३ सयभन्दा धेरै घर डुबानमा परेको पनि प्रहरीले जनाएको छ । गएरातिदेखिको लगातारको वर्षाका कारण बागमती, विष्णुमती लगायत खोला किनारका बस्ती डुबानमा परेका हुन् ।
प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८, १०:४७