संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संविधान विरोधी माग सम्वोधनका लागि सरकार वार्तामा नजाने बताउनु भएको छ ।
समायोजनको विरोधमा सरकारी चिकित्सकले जारी राखेको आन्दोलन संघीयता र संविधान विरोधी भएको उहाँको भनाइ छ । धनगढीमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले प्रदेश र स्थानीय तहमा जाँदैन भन्नु संघीयता विरोधी सोँच हो भन्नुभयो ।
जिम्मेवारी तोकिएको स्थानमा पुगेर चिकित्सकहरुले सेवा गर्नुको विकल्प नभएको मन्त्री पण्डितको भनाइ छ ।
केही व्यक्ति र झुण्डको पछाडि सरकार नलाग्ने उल्लेख गर्दै उहाँले भन्नुभयो,'खटाएका ठाउँमा नजाने डाक्टरलाई सरकारले कारबाही सुरु गरेको छ । त्यसबाट सरकार पछाडि हट्दैन ।'
संघमा मात्र राखियोस् र काजमा खटाइयोस् भन्ने डाक्टरहरुको माग स्वीकार्य नहुने उहाँको भनाइ छ । सरकारी अस्पताललाई कमजोर बनाएर निजी क्लिनिक र अस्पताल बढाउने काम नैतिकता र पेशागत मर्यादा विपरित भएको मन्त्री पण्डितले उल्लेख गर्नुभयो ।
प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५, १३:२२