काठमाडौँ । सङ्खुवासभामा एउटा परिवारको सामूहिक हत्या भएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।
हिजो बिहान सङ्खुवासभाको मादी नगरपालिका-१ स्थित उम्लिङमा ५२ वर्षका तेजबहादुर कार्कीसहित उहाँको परिवारका ६ जनाको हत्या भएको थियो ।
यसबारेमा अनुसन्धानका लागि गएराति अबेर घटनास्थल पुगेको २५ जनाको प्रहरी टोलीले कुकुरको प्रयोग गरेर आजदेखि थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी लालध्वज सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार शव र घटनास्थल जाँचलगायतका काम बिहानैदेखि सुरु गरिएको छ । स्थानीयले हिजो दिउँसो कार्कीसहित उहाँका आमा पार्वती, श्रीमती कमला, बुहारी रञ्जना, विपिन र गोमा कार्कीको शव घरभित्र र बाहिर देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जीवित रहेका ८५ वर्षका एक सदस्य राम्रोसँग कान नसुन्ने र बोली प्रष्ट नभएकाले परिवारको हत्या किन र के कारणले भयो भन्ने पूरै खुल्न सकेको छैन ।
तेज बहादुरका १० जना परिवार मध्ये जेठो छोरा रमेश मलेसिया र कान्छो छोरा नरेश वैदेशिक रोजगारीका लागि दुवईमा हुनुहुन्छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८, ११:२३