काठमाडौँ । सरकारले असोज दोस्रो सातासम्म इजरायल जानेहरूको टुङ्गो लगाइसक्ने भएको छ ।
वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन सेवा केन्द्रमा सहायक कामदारको रुपमा जान आवेदन दिइ स्वीकृत भएकाहरूको लागि परीक्षा तोकिसकेको छ ।
लिखित परीक्षा र अन्तर्वातामा सफल १ हजार ४ सय इजरायल जानका लागि सूचीकृत हुने वैदेशिक रोजगार विभागका इजरायल शाखा प्रमुख डम्बरबहादुर सुनुवारले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार इजरायल जान ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका छन् ।
छनौटमा परेकाको लिखित परीक्षाका लागि १६ परीक्षा केन्द्र तोकिएका छन् ।
परीक्षाको नतिजा २ दिनभित्र प्रकाशन गरेर १० देखि १२ दिनभित्र अन्तर्वाता लिने र असोज दोस्रो हप्तासम्म योग्यता पुगेका १ हजार ४ सय कामदारको सूची तयार गरी इजरायल सरकारलाई उपलब्ध गराउने विभागको योजना छ ।
इजरायल जान १ लाख ६५ हजार खर्च लाग्छ भने उनीहरूले मासिक १ लाख ९२ हजार पारिश्रमिक पाउँछन् ।
पहिलो चरणमा ७ सय महिला र ३ सय पुरुष गरी एक हजार कामदार इजरायल जाने भए पनि योग्यता पुगेका १ हजार ४ सयको सूची सरकारले इजरायल सरकारलाई उपलब्ध गराउनेछ ।
इजरायलले कामदार छनोट गरी विभागलाई उम्मेदवारको करारनामामा हस्ताक्षरसहित पठाउने छ । विभागले सम्झौता गराइ दूतावासमा पठाउने छ । सम्झौता भएको ३० दिनभित्र श्रमिक इजरायल गइसक्नुपर्ने प्रावधान छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८, १२:०१