यो वर्षको तीज आजबाट सकिँदै छ । मौलिक चाड हो तीज, जहाँ चेलीहरूको आफ्ना माइतीसँग यही बहानामा पुनर्मिलन हुन्छ ।
यसलाई शास्त्रीय तथा धार्मिक दृष्टिकोणबाट जसरी व्याख्या गरिए पनि अन्ततः घर गृहस्थी जीवनयापन रोजेर विवाह गरी पराइ घर गएका छोरी, दिदीबहिनी तथा समग्रमा चेलीहरूको माइतीसँगको पुनर्मिलन नै तीज हो ।
जुन समय यातायातको साधन नभएको बेला, लामो समयपछि माइती आउने दिदीबहिनीलाई मीठो ख्वाउने, राम्रो लगाउन लुगा, कपडा उपहार दिने परम्पराबाट सुरु भएको यो चाड चेलीबेटीहरूलाई सम्मान गर्ने प्रकृयाबाट सुरु भएको हो भन्ने आधारहरू पाउन सकिन्छ ।
लामो समयपछि हुने भेटघाट र मनोरञ्जनको लागि गीत गाउने ,नाच्ने चलन पनि स्वाभाविक नै हो ।
विवाह पश्चात् श्रीमानको घरमा गएर बुहार्तन ब्यहोर्दा आफूमाथि हुने अन्याय वा जन्मघर छोड्दाका पीडाहरू गीतमार्फत व्यक्त गर्ने र केही समयको मानसिक पुनर्ताजगीको लागि मनोरञ्जन गर्ने परम्परालाई वैज्ञानिक दृष्टिकोणबाट पनि प्रगतिशील नै मान्न सकिन्छ ।
तर शास्त्रीय मान्यता त कल्पनाकै कुरा होला, जहाँ पार्वतीले शिवलाई पतिको रूपमा पाउँ भनी व्रत बसेको लगायत पञ्चमीमा गरिने अवैज्ञानिक व्रत र महादेवको पुजाको सन्दर्भ सायद तत्कालीन समयको महिलामाथिको दमन, विभेदको एउटा रूप होला ।
यद्यपी यसलाई मौलिक संस्कृति मानिदै आएकोले स्वास्थ्य तथा शारीरिक ताजगिको दृष्टिकोणले सकारात्मक रूपमा लिँदा अन्यथा भने हुँदैन ।
तीजको मौलिक सांस्कृतिक पक्ष भनेकै माइतीबाट घर पुगेकी चेलीको माइतीमा आगमन, लामो समयपछिको भेटघाट, पुनर्मिलन, खुसियालीमा मीठोमसिनो भोजनको आयोजना, धार्मिक र शास्त्रीय मान्यताको विश्वास स्वरुप को व्रत नै हो ।
तीजको अघिल्लो दिनको रात्री भोज नै यसको मौलिकता हो शास्त्रीय दृष्टिकोणले जसलाई दरखाने भनिएको छ ।
खुला सार्वजनिक स्थानमा जम्मा भइ व्रत बसी आफ्नै मौलिक रचनाका, आफ्ना दुःख बेदनाका, आफ्ना विरहका गीत गाउनुको सट्टा पार्टी प्यालेसका हलहरूमा ह्विस्कि, वाईन, वियरको चुस्कि लिँदै डिस्कोडान्समा तीजकै अवसरमा ‘मुन्नी बद्नाम’ बोलका गीत गाइन थालिएको छ ।
व्रत बस्नु स्वास्थ्यको दृष्टिकोणले पनि वैज्ञानिक मानिएको छ । भोलि दिनभरको ब्रतको लागि राति पौष्टिक व्यञ्जनको भोज कति वैज्ञानिक छ । पञ्चमीको दिन गरिने शारीरिक सफाइ पनि वैज्ञानिक नै हो ।
तर यस ब्रतको शास्त्रीय तथा धार्मिक मान्यताचाहिँ विज्ञानसम्मत होइन, किनकि एकै दिनको शारीरिक सफाइ र यसबाट सम्पूणर् पाप पखालिने मान्यताचाहिँ गलत नै हो ।
हिजोका दिनमा मनाइने तीजको मौलिकता, यसको भावनात्मक पक्ष, चेलीबेटीहरूसँगको माइतीको पुनर्मिलनको अर्थ, एकआपसको सम्मान तथा मानसिक खुसीका पक्षहरूको विश्लेषण गर्दा यो निकै बैज्ञानिक पनि ठहर्छ ।
यो चेलीबेटीलाई सम्मान गर्ने, माया गर्ने मात्र नभइ अभिभावकहरूको खुसीको पनि पर्व हो । आखिर मनोरञ्जन र पारिवारिक पुनर्मिलनले ल्याउने मानसिक आनन्दको पनि यहाँ विशेष अर्थ छ ।
हाम्रो समाजमा अझ त्यस समय जुन बेला छोरी, चेलीलाई विभेद गरिन्थ्यो, स्कुल नपठाउने, घरको काममा मात्र सीमित गर्ने गरिन्थ्यो । यस सन्दर्भमा तीज पर्व महिलाहरूको लागि बिदाको दिन जस्तै हो ।
कम्तिमा तीज र पञ्चमीको बेला उनीहरूलाई व्रत बस्नु पर्ने र यी दिन कुनै काम गर्नु नपर्ने, यसबेलाचाहिँ पुरुषहरूले काम सम्हाली दिएर सघाउने ! यस्तो परम्पराले एक हिसावले वार्षिक रूपमा समाजले महिलालाई दया दिएको छुट्टीको रूपमा पनि मान्न सकिएला ।
यसको अर्को मौलिक पक्ष के हो भने आफ्नो परिवारभित्रका चेलीबेटीसँगको मात्र नभइ आफ्नो छरछिमेक,गाउँघर तथा आसपासका सबै चेलीबेटीसँगको पुनर्मिलन पनि हो । बाल सखाहरूसँगको लामो समयपछिको भेटघाट हुने अवसर पनि हो ।
किनकि ती समयमा सञ्चारको साधन थिएन । उनीहरूको प्रगतिको जानकारि हुने अवसर पनि हो । त्यसैले त यसको मौलिक पक्ष भनेको सार्वजनिक खुला स्थानमा जमघट भै नाचगान गर्ने, रमाउने, पिङ्ग खेल्ने आदि मनोरञ्जनात्मक कृयाकलाप गरिन्थ्यो ।
संस्कृति देशको पहिचानको मौलिक आधार हो भन्ने कुरा बिर्सनु भनेको आफ्नो अस्तित्व तथा आफूलाई बिर्सनु हो भन्ने कुरा सबैले मनन् गर्नु वर्तमानको अनिवार्य दायित्व हो ।
यसले एकआपसमा प्रेम, सद्भाव र सम्मानलाई अझ बलियो बनाउँथ्यो ।
तर जे जस्तो रूपमा यस चाडको परम्परा सुरु भयो, हिजोका दिनमा जसरी यसलाई मनाईँदै आइएको थियो ।
आज व्यापक परिवर्तन भएको छ, यसको मौलिकतामा । बढ्दो भौतिक पूर्वाधार, शिक्षाको बिस्तार, आर्थिक गतिविधि र आयातित संस्कृतिको प्रभावले तीजको मौलिकता धेरै खस्किएको छ । आज यातायात, सञ्चार तथा प्रविधिको प्रचुर उपलब्धताले यस्ता पर्वहरू औपचारिक बन्दैछन् ।
अझ विकृतिको रुप धारण गर्दै छन् भन्दा पनि हुन्छ ।
खुला सार्वजनिक स्थानमा जम्मा भइ व्रत बसी आफ्नै मौलिक रचनाका, आफ्ना दुःख बेदनाका, आफ्ना विरहका गीत गाउनुको सट्टा पार्टी प्यालेसका हलहरूमा ह्विस्कि, वाईन, वियरको चुस्कि लिँदै डिस्कोडान्समा तीजकै अवसरमा ‘मुन्नी बद्नाम’ बोलका गीत गाइन थालिएको छ ।
तीजको अवसर भन्दै दरखानेका नाउमा आफ्नो सान र औकात देखाउने संस्कार विकास भएको छ ।
यस्ता विकृतिहरूले समाजमा भ्रष्ट, अपारदर्शी कमाइ गरी नवधनाड्य बनेकाहरूको मपाइँत्व देखाउने र समाजमा कृत्रिम प्रभाव जमाउने होडबाजी पनि चलेको प्रत्यक्ष अनुभूति गर्न सकिन्छ ।
नागरिकको स्वतन्त्रताको नाममा मौलिक सांस्कृतिक पर्वहरूको अवनति हुँदै गएको परिपे्रक्षमा देशका हरेक नागरिकहरूले अब एकपटक ठण्डा दिमागले मौलिकता जोगाउने आफ्नो दायित्व स्मरण नगर्ने हो भने हामी तथा हाम्रो सांस्कृतिक क्षतविक्षत हुने निश्चित छ ।
संस्कृति देशको पहिचानको मौलिक आधार हो भन्ने कुरा बिर्सनु भनेको आफ्नो अस्तित्व तथा आफूलाई बिर्सनु हो भन्ने कुरा सबैले मनन् गर्नु वर्तमानको अनिवार्य दायित्व हो ।
प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८