काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीबीच आज भेटवार्ता भएको छ ।
अर्थ मन्त्रालयमा भएको भेटका क्रममा उपाध्यक्ष सुमारले एमसीसी सम्झौतालाई संसदबाट चाँडो अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गर्नुभएको मन्त्री शर्माको सचिवालयले जनाएको छ ।
जवाफमा अर्थमन्त्री शर्माले एससीसीबारे राजनीतिकस्तरमा छलफल भइरहेको बताउनुभएको थियो ।
फातीमाले प्रधानमन्त्री शेरबहादुर देउवासहित एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादीका नेता डा.बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, ऊर्जा मन्त्री पम्फा भुषाल लगायत सँग भेटवार्ता गरिसक्नुभएको छ ।
औपचारिक रूपमा नेपाल भ्रमणमा आएको यो टोलीले सबै राजनीतिक दलसँग एमसीसीबारेमा परामर्श र विचार लिने छ । एमसीसी पारित हुनमा ढिलाइ भएको तथा सबै राजनीतिक दलहरूबीचमा सहमति नभएपछि एमसीसी नेतृत्वको टोली आफैँ नेपाल आएको हो ।
टोलीले सबै नेतासँग भेटेर एमसीसी पारित गरि कार्यान्वयन गर्न आग्रह गरेको छ ।
तर सत्ता पक्षीय दलहरूका बीचमा एक मत नभएसम्म एमसीसी कार्यान्वयनका लागि दवाव नदिने बरु फिर्ता लैजाने तयारीमा एमसीसी रहेको बुझिएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८, १७:२१