अछाम । अछाम जिल्लाका जनप्रतिनिधिहरूले बालविवाह विरुद्ध हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । त्यसबारे निति नै निर्माण गर्ने उनीहरूको योजना छ ।
सामुदायिक सूचना नेटकर्व (सिआईएन) र रेडियो सोसाइटी एफएमको समन्वयमा सदरमुकाम मङ्गलसेनमा भएको ‘बालविवाह अन्त्यका लागि सरोकारवालाको भूमिका’ विषयक रेडियो सम्वाद कार्यक्रममा सहभागीले अहिलेसम्म स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, प्रहरी र अन्य निकायबीच प्रभावकारी समन्वय नहुँदा बालविवाह विरुद्ध कडा रुपमा प्रस्तुत हुन नसकेको बताएका छन् ।
जसका कारण उमेर नपुग्दै विवाह गर्नेहरूलाई कानुनी दायरामा ल्याउन नसकिएको जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिको धारणा छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले अहिले पनि २० वर्ष नपुग्दै विवाह गरेर नागरिकता बनाउन आउनेहरूको सङ्ख्या भेटिने गरेको बताउनुभयो ।
उहाँका अनुसार १७ वर्षमै दुई सन्तानकी आमा बनिसकेकाहरू समेत नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय आउने गरेका छन् ।
मङ्गलसेन नगरपालिकाका उप–प्रमुख सरीता उपाध्यायले बालविवाह विरुद्ध सञ्चालन भइरहेका सचेतनामूलक कार्यक्रमका कारण विगतभन्दा अवस्था सुधार हुँदै गएको बताउनुभयो ।
स्थानीय तहहरूले बालविवाहकै विरुद्ध योजनाका साथ काम गरिरहेको भन्दै रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले हरेक वर्ष यो समस्याका विरुद्ध डटेर लाग्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा साँफेबगर नगरपालिकाका उप–प्रमुख बिरमला बुड्थापा, नेपाल कम्युनिस्ट पार्टीका नेता चन्द्र बोहरा, अन्तरपार्टी महिला संजालका जिल्ला अध्यक्ष बिन्दु रावल, जिल्ला समन्वय अधिकारी पदमबहादुर माझी, जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाही, जिल्ला बारका अध्यक्ष कृष्णप्रसाद ढुंगानालगायतले बालविवाह अन्त्यका लागि आफ्नो धारण राखेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य तुला साउँद, चौरपाटी गाउँपालिकाका कार्यवहाक अध्यक्ष टेकबहादुर खड्का, मङ्गलसेन नगरपालिका वडा नम्बर ३ का अध्यक्ष पदमसिंह भाट, वडा नम्बर ४ का अध्यक्ष पदम धामी, वडा नम्बर ५ का अध्यक्ष हरीप्रसाद ढुंगानालगायत महिला अधिकारकर्मी, पत्रकार, विभिन्न गैर सरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति थियो ।
देशभरका सामुदायिक रेडियोबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रमको सहजीकरण सामुदायिक सूचना नेटवर्क (सिआईएन) का समाचार प्रमुख गोबिन्द खड्का र रेडियो सोसाइटी एफएमका कार्यकारी निर्देशक ध्रुव बीसीले गर्नु भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५, ०७:०६