काठमाडौँ । नेपाल–भारतबीच गत असार २५ गते भएको रेल सेवा सम्झौताको संशोधित व्यवस्थाअनुसार भारतबाट निजी क्षेत्रको कार्गो रेल पहिलो पटक नेपाल प्रवेश गरेको छ ।
संशोधित व्यवस्थामा भारतका निजी रेल सेवा प्रदायकहरूले नेपालका लागि रेलबाट हुने ढुवानी सेवा दिन सक्ने उल्लेख गरे अनुसार भारतको हल्दिया बन्दरगाहबाट ३५ घन्टाको यात्रा तय गर्दै हिन्द टर्मिनल्सको कार्गो रेल हिजो बुधवार वीरगञ्जस्थित सुक्खा बन्दरगाह भित्रिएको हो ।
९० वटा कन्टेनरसहितको कार्गो रेल सिर्सियास्थित सुक्खा बन्दरगाह प्रवेश गरेको हो ।
यसअघि भारत सरकारको स्वामित्व रहेका भारतीय रेल–वे कम्पनी र कन्टेनर कर्पोरेशन लिमिटेड (कनकोर)ले मात्र नेपालमा कार्गो रेल सेवा उपलब्ध गराउँदै आएका थिए ।
निजी क्षेत्रको समेत कार्गो रेल ढुवानी सेवाको सुरुवातले नेपालको व्यापार प्रक्रियामा थप सहजीकरण हुने इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८, ०८:३४