काठमाडौँ । ७० वर्षको इतिहासमा मुलुकमा पहिलो पटक बजेटविहीनताको अवस्था आएको छ ।
गत साउन ३ गते प्रतिनिधि सभामा प्रस्तुत चालू आर्थिक वर्ष ०७८/७९ को अध्यादेश बजेटको प्रतिस्थापन विधेयक संसदबाट समयमा पारित नभएपछि यस्तो समस्या आएको हो ।
प्रतिस्थान विधेयक हिजोसम्म पारित हुनुपर्ने थियो । संसदको स्वीकृतिबिना बजेट खर्च गर्न नहुने प्रावधानका कारण गए रातिदेखि सङ्घीय सरकारी खर्च रोक्का भएको हो ।
केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेको थियो ।
प्रमुख प्रतिपक्षी दल एमालेले आफूले कारबाही गरेका सांसदको सूची सभामुखले प्रकाशित नगरेको भन्दै संसदको कामकारबाही अवरुद्ध गर्दा बजेट पारित कार्य प्रभावित भएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले भने बजेटविहीनताको अवस्थाले सरकारी भुक्तानी अवरुद्ध भए पनि अल्पकालीन समस्या भएकाले अर्थ प्रणालीमा त्यति ठूलो समस्या नआउने बताउनुभएको छ ।
संसद्मा जारी अवरोध हटाउन प्रयास भइरहेको र त्यसले छिट्टै प्रतिस्थापन विधेयक पारित हुने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८, ०८:४७