नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जको बाघको आक्रमणबाट एक ४५ वर्षका पुरुषको मृत्यु भएपछि उक्त बाघ खोज्न हात्ति परिचालन गरिएको छ ।
बाँकेको अगैया-कुसुम सडकको गाभरको स्थानीय होटलमा काम गर्ने एक पुरुषलाई बाघले आक्रमण गरेको थियो र केही समयपछि उनको शव फेला परेको थियो ।
निकुञ्ज स्थापना भएको डेढ वर्षमा बाघको आक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ११ वर्षदेखि बाघको संरक्षणमा जुटेका स्थानीयवासीले मानिसलाई आक्रमण गर्ने बाघलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
आफूहरूलाई स्थानान्तरण गर्न वा सुरक्षाको सुनिश्चित गर्न माग गर्दै स्थानीयबासी आन्दोलनमा छन् । आन्दोलनमा सहभागी चन्दा लामाले सर्वसाधारणमा त्रास छाएकाले बाघ नियन्त्रण गर्न माग गर्नुभयो ।
अन्यथा मानव वस्ती नै अन्यत्र सार्न उहाँको अनुरोध छ ।
बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले बाघ देखिने क्रम बढिरहेको बताउनुभयो । मानिसलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिनुपर्ने उहाँको भनाइ छ ।
२ वटा बाघ त्यस क्षेत्रमा ओहोरदोहोर गरिरहेको पाइएकाले हात्तिको सहायतामा नियन्त्रणमा लिने प्रयास भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताउनुभयो ।
सन् २०१८ को गणनामा बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ भेटिएका थिए ।
यसबारेको अडियो रिपोर्ट सुन्नुहोस्ः
प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८, ११:२५