काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापाले बालविवाह अन्त्यका लागि कानुन मात्रै होइन बालवालिका र अभिभावकलाई सचेत बनाउनुपर्ने बताउनु भएको छ ।
वल्र्ड भिजन इन्टरनेशनल नेपाल, सामुदायिक रेडियो प्रसारक संघ, सामुदायिक सूचना नेटवर्क (सीआईएन) को सहकार्यमा शुक्रबार भएको भर्चुअल कार्यक्रममा सभामुख थापाले गाउँघरमा रहेका नागरिकलाई बालिविवाहका कारण हुने नकारात्मक प्रभावका बारेमा राम्रोसँग जानकारी गराउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले सरकार, गैरसरकारी संस्था र आम नागरिकको साझा अभियानले मात्रै बालविवाह जस्तो कुरीति अन्त्य गर्न सकिने धारणा राख्नुभयो ।
उहाँले प्रदेश सरकारले बालविवाह अन्त्यका लागि बिभिन्न प्रकारका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउनुका साथै बनेका कानुन कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभयो ।
बझाङको साईपाल गाउपालिककाका अध्यक्ष राजेन्द्र धामीले जानकारी बाँड्दाबाँड्दै पनि लुकिछिपी बालविवाहका घटना भइरहेको बताउनुभयो ।
कार्यक्रममा ‘नेपाली जुटौँ, बालविवाह रोकौँ’ भन्ने नाराका साथ चलिरहेको ५ वर्षे अभियान अन्तर्गत आफूहरूले सचेतनामूलक कार्यक्रम निरन्तर गरिरहेको वल्र्डभिजन इन्टरनेशनलका व्यवस्थापक श्याम अधिकारीले जानकारी गराउनुभयो ।
मानवअधिकार आयोग शुदूरपश्चिम कार्यालयका निर्देशक मोहनसिंङ जाशसीले अधिकारको क्षेत्रमा काम गर्नेहरूबाटै बेलाबेलामा यस्ता गल्ती भइरहकोले अझैँ पनि मानिसहरूलाई बुझाउन नसकेको हो कि भन्ने आफूलाई लागेको सुनाउनुभयो ।
बाजुराको बुढीगंगा नगरपालिकाका प्रमुख दीपक बिक्रम शाहले आफ्नो पालिकालाई अबको २ वर्षमा बालविवाह मुक्त बनाउने घोषणा कार्यान्वयनको काम भइरहेको उल्लेख गर्नुभयो ।
डडेल्धुराको अजैमेरु गाउँ पालिकाका उप प्रमुख कलावती बडले आफूहरूले आगामी वर्षका लागि विद्यालय र बाल क्लवहरूलाई केन्द्रित गरेर बालविवाहबिरुद्धको कार्यक्रम गर्न लागेको जानकारी गराउनुभयो ।
छलफलमा सरोकारवाला निकायका प्रतिनिधि, जनप्रतिनिधि, बालबालिका, सञ्चारकर्मी लगायत गरी ६० भन्दा धेरैको सहभागिता थियो ।
प्रकाशित मिति: शनिबार, असोज २, २०७८, १३:५५