काठमाडौँ । दल विभाजन गरेर सत्ता गठबन्धन बलियो बनाउन भन्दै सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशकै कारण सरकार विस्तारमा ढिलो भएको छ ।
नेकपा एमालेमा विद्रोह गरिरहेको तत्कालीन माधव कुमार नेपाल पक्षलाई नयाँ पार्टी बनाउन सजिलो हुने गरी बर्तमान सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २९ दिनअघि राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणिकरण गर्नुभएको थियो ।
अध्यादेशपछि नेता नेपालको नृत्वमा नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएका छन् ।
तर मन्त्रिपरिषद् विस्तारका लागि आफूहरूले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजको माग गरेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सीआईएनसँग बताउनुभयो ।
मन्त्रालयको भागबण्डाको बारेमा पनि प्रधानमन्त्रीले तदारुकता नदेखाएको अध्यक्ष यादवको गुनासो छ । सरकारको नृत्व गरिरहेको दल नेपाली काँग्रेसले भने मन्त्रिपरिषद् विस्तारको बारेमा शीर्ष तहमा छलफल भइरहेको काँग्रेस महामन्त्री पूणर्बहादुर खड्काले सीआईएनसँग बताउनुभयो ।
गठन भएको ६४ दिन पुग्दा पनि सरकार विस्तार हुन सकेको छैन । मन्त्रालयको भागबण्डाको सन्दर्भमा नेकपा एकीकृत समाजवादीले भने कम्तिमा ६ मन्त्रालय पाउनुपर्ने माग अनौपचारिक रुपमाा अघि सारेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।
यही असोज ५ र ६ गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकपछि मात्रै सरकारमा जाने बारेमा आधिकारिक निणर्य लिइने पनि उहाँले बताउनुभयो ।
मन्त्रिपरिषद्ले पूणर्ता नपाउँदा प्रधानमन्त्री शेरबहादुर देउवाले १८ मन्त्रालयको जिम्मेवारी आफै लिनुभएको छ भने ४ जना मन्त्री र एक राज्य मन्त्री मन्त्रिपरिषद्मा छन् ।
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८, १४:५६