संखुवासभा । संखुवासभाको मादी नगरपालिका १ उम्लिङ् खोलागाउँमा गत भदौ २१ गते भएको हत्याकाण्डमा संलग्न थप ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
आज बिहान जिल्ला प्रहरी कार्यालय संखुवासभामा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले घट्नामा संलग्न ४७ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षका हस्तबहादुर कार्की, ४९ वर्षका रणबहादुर कार्की र वर्ष १७ का नरेश कार्कीलाई सार्वजनिक गरेको हो ।
लोकबहादुर कार्कीको घरमा अघिल्लो रात योजना बनाएर हत्या गरिएको प्रहरीले जनाएको छ ।
अभियुक्त खड्गबहादुर हत्याकाण्डको मुख्य योजनाकारका रुपमा रहेको सङ्घीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
उहाँका अनुसार निरन्तरको अनुृसन्धानका क्रममा थप तथ्यहरु फेला पार्न प्रहरी सफल भएको छ ।
गत भदौ २१ गते बिहान करिव ५.३० बजे घटाइएको दर्दनाक हत्याकाण्डामा मादी १ खोला गाउँका ८४ वर्षका बृद्धा पार्वती कार्की, ५५ वर्षका तेजकुमार कार्की, ५४ वर्षका मनमाया कार्की, ३२ वर्षका रञ्जना कार्की, ८ वर्षका दिपेन कार्की र ५ वर्षका गोमा कार्की गरी ६ जनाको हत्या गरिएको थियो ।
घट्नालगत्तै प्रदेश नं. १ का प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बीसीको निर्देशनमा सङ्घीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालको कमाण्डमा संखुवासभाका प्रहरी नायव उपरिक्षक लालध्वज सुबेदी, ईलाका प्रहरी कार्यालय चैनपुर र प्रदेश प्रहरी कार्यालयका संयुक्त अनुसन्धान टोली परिचालित भएको थियो ।
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८, १४:०१