गुल्मी । गुल्मीमा गएराति अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका ८ खानिगाउँका तीन दिदीबहीनी २१ वर्षका भावना परियार, १४ वर्षका गंगा परियार र १४ वर्षका जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
माथिबाट आएको पहिरोले घर पुरिएपछि बीचको कोठामा सुतेका तीन दिदी बहिनीको मृत्यु भएको डीएसपी पाण्डेले बताउनुभयो । स्थानीय तिलक परियारको ६ जनाको परिवारमा तीन जनाको मृत्यु भएको छ ।
उहाँका श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ । स्थानीयबासी, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा तीन जनाकै शव बिहान साढे ४ बजे निकाली गुल्मी अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ ।
राति करिब दुई बजे पहिरोले तीन जना पुरिएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक एसपी गोपालचन्द्र भट्टराईको कमाण्डमा २५ जनाको टोली घटनास्थल पुगेको थियो ।
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८, ०७:४२