काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारमा आज पदभार ग्रहण गर्दै मन्त्री खड्काले पराष्ट्र समन्बन्ध विस्तारमा आफूले सकेसम्मको योगदान गर्ने बताउनुभयो ।
राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई आजै दिउँसो सपथग्रहण गराउनु भएको थियो।
हिजो बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा परराष्ट्रमन्त्रालयमा नेपाली काँग्रेसका तर्फबाट मन्त्री बनाउने सहमति पछि प्रधानमन्त्री देउवाले खड्काको नाम सिफारिस गर्नु भएको थियो ।
मन्त्री खड्का संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन आज साँझ न्यूयोर्क जाँदै हुनुहुन्छ ।
करिब २ वर्षअघि सीआईएनसँगको कुराकानीमा खड्काले आफ्नो प्रधानमन्त्री बन्ने र मुलुकको सेवा गर्ने चाहाना रहेको बताउनुभएको थियो ।
काँग्रेस एकीकरणको बेलामा पार्टीका हालका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग राम्रो सम्बन्ध रहे पनि बीचमा आएको उतारचढावका कारण देउवा खेमामा नरहेको उहाँको भनाइ थियो ।
डा नारायण खड्काको राजनीतिक उतारचढाव
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८, १५:१४