काठमाडौँ । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएपछि ८ दिनदेखि रोकिएको सरकारी खर्चको अवरोध आजबाट हटेको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपा एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित भएपछि प्रमाणीकरणका लागि सभामुखले राष्ट्रपतिसमक्ष पठाउनुभएको थियो ।
हिजो साँझ बजेट विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
आजबाट सरकारलाई खर्च गर्न सजिलो भएको अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्यले सीआईएनसँग बताउनुभयो ।
‘सरकारी खर्च प्रणाली नै अवरुद्ध थियो । विधेयक प्रमाणित भएपछि अब बजेट खर्च गर्न बाटो खुलेको छ । सरकारले जम्मा गरेर मात्रै भएन, त्यो रकम बजारमा पनि जानुपर्यो ।
बजारमा भएको तरलता अभाव पनि अब सामान्य हुन्छ । ’ प्रवक्ता आचार्यले भन्नुभयो ।
गत जेठ १५ गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटलाई वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८, ०७:२९