काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमणभन्दा निको हुने दर बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पनि कम हुँदै गएको छ ।
केही दिनदेखिको जाँचमा सङक्रमितको सङ्ख्या घट्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हिजो १० हजार ५ सय ७९ जनामा कोरोना परीक्षण गर्दा ९ सय ५३ मा कोरोना पुष्टि भयो भने १३ सय ७१ जना कोरोनामुक्त भएका छन् ।
अस्ति १ हजार ५ सय ५० जना कोरोना सङ्क्रमणमुक्त भएका थिए भने त्यस अघिको दिन यो सङ्ख्या १३ सय २४ थियो ।
सीआईएनसँग कुराकानी गर्दै स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले निको हुने दर बढे पनि सावधानी अपनाउन अनुरोध गर्नुभयो ।
शैक्षिक संस्था, सार्वजनिक सभासमारोह पूर्ण रुपमा सञ्चालनका लागि मन्त्रालयले अनुमति नदिएको जानकारी दिँदै सहप्रवक्ता अधिकारीले कोरोनाको अवस्थाको विश्लेषण गरेर मात्रै दसैँपछि धारणा बनाउने तयारी भएको उल्लेख गर्नुभयो ।
कोरोना सङ्क्रमणबाट २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार ८७ पुगेको छ । १९ हजार ७ सय भने सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८, ०८:१४