सोलुखुम्बु । सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आज बिहान समिट एयरको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ ।
दुर्घटनामा घाइते प्रहरी सहायक निरीक्षक झापा घर भएका रुद्रबहादुर बिष्टको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या ३ पुगेको हो ।
विमानस्थलको सुरक्षार्थ खटिएका पर्यटक प्रहरी लुक्लाका प्रहरी सहायक निरीक्षाक रामबहादुर खड्का र समिट एयरका कोपाइलट सुजित ढुङ्गानाको बिहान घटनास्थलमा नै मृत्यु भएको इन्स्पेक्टर प्रदीप सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो ।
दुर्घटनामा समिट एयरका पाइलट रविनाथ रोकाया र हेलिकप्टरका पाइलट चेतबहादुर गुरुङ घाइते भएका छन् ।
घाइते बिष्ट र रोकायालाई सिम्रिक एयरको हेलिकप्टरबाट उपचारका लागि शिक्षण अस्पताल काठमाडौँ ल्याइएको थियो । घाइते हेलिकप्टर पाइलट गुरुङलाई पनि अर्को हेलिकप्टरमा काठमाडौँ ल्याइएको छ ।
यात्रु ओरालेर रामेछापका लागि उड्न लागेका बेला विमान धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको हो ।
मनाङ एयरको हेलिकप्टरसँग समिटको विमान ठोक्किएर दुर्घटना भएको हो । समिट एयरको नाइनएन एएमएच कलसाइनको विमान मनाङ एयरको नाइनएन एलसी कलसाइनको हेलिकप्टरसँग ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६, १०:००