काठमाडौँ । प्रदेश २ सरकारका महिला, बालवालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले प्रदेश सरकारले छुट्टै मन्त्रालय बनाएपछि बालविवाहको अन्त्यका लागि कार्यक्रम ल्याउने बताउनुभएको छ ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, सामुदायिक रेडियो प्रसारक संघ, सामुदायिक सूचना नेटवर्क (सीआईएन) को सहकार्यमा भर्चुअल कार्यक्रममा मन्त्री सिंहले छुट्टै मन्त्रालय भएपछि बालविवाह अन्त्यका लागि काम गर्ने योजना बनाइएको जानकारी दिनुभयो ।
उहाँले छिट्टै नै सरोकारवालाहरूसँग भएको छलफलमा आधारित भएर कार्यक्रम ल्याउने र यस क्षेत्रमा योगदान गर्नेलाई पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
छलफल कार्यक्रममा ‘नेपाली जुटौँ, बालविवाह रोकौँ’ भन्ने नाराका साथ आफूहरूले प्रदेश नं २ मा विषेश खालको कार्यक्रम गरिरहेको र त्यसले निरन्तरता पाउने वर्ल्ड भिजन इन्टरनेशनलका व्यवस्थापक श्याम अधिकारीले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा कविलासी नगरपालिकाका मेयर कौशल किशोर यादवले नगरपालिकाले सञ्चारमाध्यममार्फत सचेतना फैलाउनको लागि बजेट छुट्याउने गरेको बताउनुभयो ।
सामुदायिक रेडियो प्रसारक संघ प्रदेश नं २ का अध्यक्ष मनोज यादवले सामुदायिक रेडियोहरुले स्थानीय सरकार र प्रदेश सरकारसँग मिलेर बालविवाह अन्त्यका लागि धेरै प्रभावकारी कार्य गर्नसक्ने बताउनुभयो ।
कार्यक्रममा बालवालिका र किशोरकिशोरीले राखेका प्रश्नको जवाफ मन्त्री सिंह र जनप्रतिनिधिहरूले दिएका थिए ।
प्रकाशित मिति: बुधबार, असोज १३, २०७८, ११:२७