काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पहिलो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ ।
तीन दिनसम्म चल्ने महाधिवेशनले पार्टीको मार्गनिर्देशक सिद्धान्तको बारेमा टुङ्गो लगाउने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा मध्यान्ह्पछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार करिब सात हजार प्रतिनिधिको महाधिवेशनमा सहभागिता रहने छ ।
प्रस्तावित विधान मस्यौदाले ७० वर्ष उमेरहद तोक्ने र दुई पटक पार्टीको कार्यकारी नेतृत्वमा रहने प्रस्ताव गरेकाले त्यसमा पनि थप छलफल गरी निणर्यमा पुगिने सचिव तामाङको भनाइ छ ।
महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेद न, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन मस्यौदा प्रतिवेदन प्रस्तुत गर्नुहुने र त्यसमा समूहगत छलफल भई निणर्यमा पुग्ने तयारी भएको नेता खिमलाल भट्टराईले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८, ०८:०३