काठमाडौँ । राष्ट्रिय सभा र प्रतिनिधि सभाका बैठकहरू नियमित सञ्चालनमा नआउँदा ६० वटा विधेयक प्रक्रियामा जान सकेका छैनन् ।
नागरिकको आवश्यकतासँग सरोकार राख्ने विधेयकको बारेमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा छलफल हुन पाएको छैन ।
अघिल्लो सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गरेको बर्तमान सरकारले त्यससँग सम्बन्धित अध्यादेश तथा विधेयक प्रमुख प्रतिपक्षी दलको विरोधका बीच अघि बढाइरहेको छ ।
हिजोको प्रतिनिधि सभाको बैठकमा पनि एमालेका सांसदहरूले विरोध कायमै राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई अनुरोध गर्नुभएको थियो ।
आफूले कारबाही गरेका १४ सांसदको नामावली सभामुखले सार्वजनिक नगरेको, पार्टी फुठाउने गरी सरकारले राजनीतिक दलसम्बनधी अध्यादेश ल्याएको भन्दै एमालेले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठकमा विरोध जनाउँदै आएको छ ।
विरोधका बीच हिजोको प्रतिनिधि सभामा प्रधानमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पमहालेखा परीक्षक कार्यालयको ५८ वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।
प्रतिनिधि सभाको बैठक यही अजसो १९ सम्मको लागि स्थगित गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८, ०८:२३