काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत दोस्रो दिन आज समूहगत छलफल भइरहेको छ ।
छलफलका लागि प्रतिनिधिलाई १० समूहमा विभाजन गरिएको छ ।
महाधिवेशनमा पेस भएका प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिलाई समूह विभाजन गरिएको र दिउँसो २ बजेसम्ममा निष्कर्ष सुनाउने योजना रहेको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले सीआईएनसँग बताउनुभयो ।
अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले पेस गरेका प्रतिवेदनमाथि समूहगत छलफल चलाइएको हो ।
विधान महाधिवेशन सञ्चालनका लागि भने पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरिएको छ ।
अध्यक्षमण्डको सदस्यहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहनुभएको छ ।
प्रस्ताव मस्यौदा कमिटीमा भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, यामलाल कँडेल, राजन भट्टराई, पद्मा अर्याल र लीला भण्डारी रहनुभएको छ ।
एमाले पार्टी कार्यालय सचिव तामाङले कोरोनाको जोखिमका बीच पनि स्वास्थ्य मापदण्ड पूरा गर्ने कोसिस भएको उल्लेख गर्नुभयो ।
ललितपुरको गोदावरी सम्मेलन केन्द्रमा सहभागी भएका ६ हजारभन्दा धेरै प्रतिनिधिले मास्क नलगाएको, भीडभाड देखिएको सन्दर्भमा कुराकानी गर्दै उहाँले नेताहरूसँग कार्यकर्ताले तस्वीर खिच्दा त्यसो देखिए पनि आफूहरूले स्वास्थ्य मापदण्ड पालनाका लागि निर्देशन जारी गरेको दावी गर्नुभयो ।
महाधिवेशनमा आउनेहरू कोरोनाविरुद्धको दुवै खोप लगाएको हुनुपर्ने मापदण्ड तय गरिएका कारण कम जोखिमको आँकलन गरिएको तामाङको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, असोज १६, २०७८, १२:१९