काठमाडौँ । केन्द्रीय निर्वाचन आयोग गठन गर्दै नेकपा एमालेको विधान महाधिवेशन आज सकिने भएको छ ।
आज राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्ताव पारित गरेर केन्द्रीय निर्वाचन आयोग गठन गरेपछि महाधिवेशन सम्पन्न हुने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सीआइएनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार आज तीनवदै प्रतिवेदनमा उठेका प्रश्नको पार्टी अध्यक्ष केपी शर्मा ओलीसति सम्बन्धित नेताले जवाफ दिने कार्यसूची छ ।
महाधिवेशनको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव ईश्वर पोखरेलले साङ्गठनिक र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तावमाथि विभिन्न १० वटा समूह बनाएर हिजो छलफल सकिएको छ । छलफलको निष्कर्ष सुनाउन बाँकी समूह नेताले आज सुनाउनेछन् । हिजो निष्कर्ष सुनाएका समूहले एमसीसी परियोजनाको बारेमा पार्टीको आधिकारिक धारणा माग गरेका थिए ।
महाधिवेशनमा मुलुकका बिभिन्न जिल्लाबाट ६ हजारभन्दा धेरै प्रतिनिधि काठमाडौँ आएका छन् । महाधिवेशन ललितपुरको गोदावरी सम्मेलन केन्द्रमा भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८, ०७:४६