काठमाडौँ । एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मन्त्रीको नाम बुझाएको अवस्थामा मन्त्रिपरिषद्ले आज पूणर्ता पाउने भएको छ ।
हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालयलगायत अरु भागबण्डा मिलेसँगै आज बिहानसम्ममा मन्त्रीको नाम दिन प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलहरूलाई भन्नुभएको थियो ।
त्यसैअनुसार हिजो बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुङ्ग्याउने जिम्मा अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको सचिवालयलाई दिएको महासचिव वेदुृुराम भुसालले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार हिजोको बालुटार बैठकमा प्रदेश १ र वागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति पनि भएको छ । उपसभामुखमा भने जनता समाजवादी पार्टीले दावी गरेको छ ।
सरकारमा जाने मन्त्रीको नाम छान्न एकीकृत समाजवादीको सचिवालयको बैठक आज बिहान बस्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या, श्रम तथा रोजगार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय एकीकृत समाजवादीको भागमा परेको छ ।
जनता समाजवादी पार्टीको कार्यकारिणी समिति र संसदीय दलले मन्त्रीको नाम टुङ्ग्याउने जिम्मा अध्यक्ष उपेन्द्र यादव लगायत शीर्ष नेतालाई दिएको नेता प्रदीप यादवले सीआईएनसँग बताउनुभयो ।
प्रधानमन्त्री देउवाले आफ्नो पार्टी नेपाली काँग्रेसबाट ४ जना मन्त्री थप्ने तयारी गर्नुभएको बालुवाटार स्रोतले जनाएको छ ।
हिजो साँझ बालुवाटारमा काँग्रेस शीर्ष नेताको छलफल भए पनि कस-कसलाई मन्त्री बनाउने भन्नेबारे सहमति भइनसकेको बालुवाटार स्रोतले जनाएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले ३ जना मन्त्री दिनुपर्ने अडान राख्दै आएको छ । बाँकीमध्ये वरिष्ठ नेता पौडेललाई १, महामन्त्री शशांक कोइरालालाई १ र नेता कृष्णप्रसाद सिटौलालाई १ मन्त्री दिने तयारी प्रधानमन्त्रीको छ ।
सत्तागठबन्धन दलबाट मन्त्री बन्ने नेताको सूची पाएपछि गठन भएको तीन महिना पुग्नै लाग्दा देउवा नेतृत्वको सरकारले आज पूणर्ता पाउनेछ ।
सत्तारुढ दलबीच काँग्रेसले ७, माओवादी केन्द्रले ५ वटा र जसपा अनि एकीकृत समाजवादीले ४४ मन्त्रालय पाउने सहमति बनेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८, ०७:२४