काठमाडौँ । गठन भएको ८८ दिनमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएको छ ।
नवनियुक्त मन्त्रीहरुलाई हिजो राष्ट्रपति विद्यादेवी भण्डारी शपथ ग्रहण गराउनुभयो ।
प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम हिजो शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या, डा मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री मन्त्रालयमा देवेन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
महेन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशि श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामकुमारी झाँक्री सहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, रामसहायप्रसाद यादव वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महेश्वरजंग गहतराजले युवा तथा खेलकूदमन्त्रीको रुपमा सपथ लिनुभएको हो ।
प्रधानमन्त्री देउवा समक्ष नवनियुक्त राज्यमन्त्री द्वय भवानीप्रसाद खापुङ र बोधमायाकुमारी यादवले पनि हिजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रकाशित मिति: शनिबार, असोज २३, २०७८, १०:४१