काठमाडौँ । नियुक्त भएको ४८ घण्टा नबित्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिनुभएको छ ।
सीआईएनसँग कुराकानी गर्दै हमालले प्रधानमन्त्री समक्ष आफूले राजीनामा बुझाएको बताउनुभयो ।
'म काँग्रेसको राजनीतिमा त्याग र लगावका साथ यहाँसम्म आइपुगेँ। तर अमुक व्यक्तिसँगको सम्बन्धलाई विषय बनाएर मेरो पिछा गर्ने र व्यक्तिगत रुपमै लाञ्छना लगाउने काम भयो।' हमालले भन्नुभो,'त्यसकारण मैले राजीनामा दिनुपर्छ भन्ने निर्णय लिएको हुँ।'
राजीनामाअघि हमालले काँग्रेसका केही नेताहरुसँग पनि छलफल गर्नुभएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भागबाट मन्त्री बनेको र बनाइएको भन्दै सरकारको आलोचना भइरहेको छ । हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले अस्ति मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, असोज २४, २०७८, १०:३५