काठमाडौँ । कलाकार मनोज गजुरेलले विवाह गर्नुभएको छ ।
गजुरेलले आज सामाजिक सञ्जालमार्फत् आफूले विवाह गरेको जानकारी दिनुभएको हो । न्याय सेवामा अधिकृतको रुपमा कार्यरत मञ्जु पोखरेलसँग उहाँको विवाह भएको हो ।
चार वर्षअघि मिना ढकालसँग कलाकार गजुरेलको सम्बन्धविच्छेद भएको थियो ।
सामाजिक सञ्जालमा गजुरेलले लेख्नुभएको छ, 'जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महसुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशील हुनु पनि जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौँ।'
विवाह गर्ने निर्णयमा पुग्न आफ्ना छोराछोरीहरुको सुझाव र सहमतीले पनि ठूलो सहयोग पुगेको गजुरेलले लेख्नुभएको छ ।
प्रकाशित मिति: सोमबार, असोज २५, २०७८, १३:४२