काठमाडौँ । बडादसैँ अन्तर्गत नवरात्रको आज सातौँ दिन, घरघरमा विधिपूर्वक नवपत्रिका अर्थात् फूलपाती भित्र्याईँदैछ ।
फूलपातीका रुपमा उखु, बेसार, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइ शक्तिको प्रतीकका रूपमा प्रत्येक फूलपातीमा छुट्टाछुट्टै देवीको पूजा गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदाका दिन विधिपूर्वक सुरु गरिएको दुर्गापूजाका क्रममा महाअष्टमी, महानवमी र विजयादशमीका दिनमा विशेषपूजाका लागि शुभ साइतस्वरुप नवपत्रिका अर्थात् फूलपाती भित्रयाउने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष श्रीहरि अधिकारीले सीआईएनसँग बताउनुभयो ।
हनुमानढोका दरबारमा आज गोरखाबाट ल्याइएको फूलपाती दिउँसो साढे ४ बजे भित्रयाइनेछ । नेपाली सेनाले परम्परागतरूपमा फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ गर्दैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारी अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ समारोहमा सहभागी हुने कार्यक्रम तय भएको छ ।
नेपाली सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गर्ने अनि सैनिक हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत हुने नेपाली सेनाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८, ०७:०९