राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाईं गरेको छ ।
हिजो आयोजित कार्यक्रममा सुरुमा राष्ट्रपतिमा नेपाली सेनाले सलामी अर्पण गरे पश्चात नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।
त्यसपछि बढाईं टोलीले राईफलबाट विभिन्न पाटाहरुबाट लहरे, एकठ्ठा र आँफूखुसी बढाईं र तोपबाट पनि लहरे र एकठ्ठा बढाईं गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाली सेनाको महिला गुल्म सम्मिलित टोलीबाट मार्च पास प्रदर्शन गर्नुका साथै नेपाली सेनाको ब्यान्डबाट ओम्कार फर्मेशनमा मालश्री धुन तथा दुर्गा भजनहरुको धुन समेत प्रस्तुत गरिएको थियो ।
फूलपाती बढाईं समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्री गण, संवैधानिक अङ्गका प्रमुखहरु, नेपाल सरकारका मुख्य सचिव तथा सचिवहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, पूर्व प्रधानसेनापतिहरु, बहालवाला रथीको उपस्थिति रहेको थियो ।
प्रधान सेनापति प्रभुराम शर्मा ज्वरो आएका कारण कार्यक्रममा उपस्थित हुनु भएन ।
२१ जना प्रमुख सुवेदार र सुवेदारहरुलाई मानार्थ उप सेनानी दर्जाको चिन्ह तथा नेपाली सेनाका ६ जना सकलदर्जा र गैह्र सैनिक व्यक्ति १ जना गरी जम्मा ७ जनालाई “प्रधान सेनापति प्रशंसा निशान” समेत हिजो प्रदान गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, असोज २७, २०७८, ०८:११