काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता पक्ष संवादमा आए सदनको अवरोध खुला गर्ने बारेमा छलफल गर्न तयार भएको बताएको छ ।
सीआईएनसँग कुराकानी गर्दै एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले सत्ता पक्षका प्रतिनिधिसँग मात्र आफूहरूले छलफल गर्ने रणानीति बनेको बताउनुभयो ।
आगामी ९ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अघि सत्ता पक्षले छलफल चलाए संसदमा आफूहरूले राखेको माग र जारी अवरोध खुलाउने बारे विकल्पहरूमा जान सकिने कार्यालय सचिव तामाङले जानकारी दिनुभयो ।
हिजो मात्रै सभामुख अग्नीप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दल एमालेसँग आत्मसमीक्षा गरी अघि बढ्न तयार रहेको बताउनुभएको थियो ।
न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा सभामुखको रुपमा सदन खुलाउनका लागि कोसिस गर्ने र एमालेसँग संवाद गर्न चाहेको बताउनुभएको थियो ।
तर एमालेले भने सभामुखभन्दा पनि सत्ता पक्ष वा उसले पठाएका प्रतिनिधिसँग मात्र कुरा गर्ने अडान लिएको छ । यसअघि एमालेका प्रमुख सचेत विशाल भट्टाराईले सभामुख र प्रधानमन्त्रीले आफ्नो दलका नेता केपी शर्मा ओलीसँग छलफल गर्नुपर्ने अनि निकास निस्कने बताउनुभएको थियो ।
सत्ता पक्षले चाहेमा मात्र निकास निस्कने निस्कर्षका साथ सभामुखसँग छलफल गर्ने यसअघिको धारणा परिवर्तन गर्नुपरेको एमाले स्रोतको भनाइ छ ।
आफूले कारबाही गरेका १४ सांसदको सूची जानाजान सार्वजनिक नगरेको भन्दै एमालेले सभामुख सापकोटाको भूमिकामा प्रश्न उठाउँदै आएको छ भने गएको भदौ २३ गतेदेखि सुरु भएको नवौँ अधिवेशन अन्तर्गतका प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकमा नाराबाजी गर्दै आएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८, ०९:४६